बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल

8.7k Shares

तनहुँ– सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदुरडाँडा । चारैतिर  वनजङ्गलले घोरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ । 

आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदुरी गरेर  छाक टार्दै आएका छन् । यो समस्या त छँदै छ, जङ्गल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव । 

स्थानीय हस्तबहादुर नेपालीले भने, ‘बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५/२० मिनेट उकाली ओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो ।’

उनले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए । ‘चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नु परेको छ’, उनले भने, ‘जङ्गलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।’

यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो । 

बस्ती बसेको एकाउन्न वर्षपछि भदुरडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन् । 

सम्बन्धित समाचार