नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह
अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन् ।
प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र
कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ
सम्झौता गरेको जानकारी दिएका छन् ।
प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता
नवीकरण गरेको बताएका हुन् । यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल
खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए ।
यद्यपी साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई
फाइनल भने खेलाउन पाएनन् । २८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाल
उपविजेतामै सीमित बनेको थियो । फाइनलमा नेपाललाई भारतले ३(० ले पराजित गरेको थियो
।
फाइनलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि
प्रस्थान गरेका थिए । यद्यपी उनी अहिले कतारमै रहेको एन्फा अध्यक्ष शेर्पाले बताए
।
फाइनलपछि उनले दिएको अन्तर्वार्तामा दुई साता आराम गर्ने र
एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए ।
अलमुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख
प्रशिक्षक नियुक्त भएका थिए । त्यहिबेला एन्फाले उनीसँग एक वर्षको सम्झौता भएको
बताएको थियो ।
तर अलुमाइरीले नेपालसँगको सम्झौता यहिँ महिना सकिने भन्दै
सार्वजनिक अभिव्यक्त दिएका थिए । अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा
प्रशिक्षण गर्न गत वर्ष पठाएको थियो ।
नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिने एन्फाको भनाइ छ । एन्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ ।