धरान (सुनसरी) । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताउनुभएको छ । श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले धरानमा निर्माण गरेको धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ भन्ने म ठान्दछु ।”
राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि निष्कर्षमा ‘परोपकार पुण्याय, पापाय परपिडनम’ भन्नुभएको छ ।”
हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।