प्रजातन्त्रले नागरिकका लागि सडक, पुल, अस्पताल, विद्यालय बनायाे : प्रधानमन्त्री ओली

10.9k Shares

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले युवाहरूलाई सशक्त बनाएर नै देशलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

‘’लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन शुरू गरेको छ, प्रधानमन्त्रीले भन्नुभयो, ‘सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुनेछौँ ।’

प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताउनभुयो । लोकतन्त्रको खुला मैदानमा नै नागरिकको जीवनमा प्रगति भएको जनाउँदै उहाँले बढ्दो जनआकाङ्क्षा र चुनौतीबीच राज्यको संस्थागत र सामर्थ्यबीच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ ।’उहाँले देशको सुशासन, विकास, समृद्धि र नागरिकको सुखको सुनिश्चितताका लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान गर्नुभएको छ ।

सम्बन्धित समाचार