महाकुम्भमा ५० करोड धार्मिक पर्यटक!

10.5k Shares

काठमाडौँ - एउटा धार्मिक कार्यक्रममा कति भक्तजन जालान् ? हजार, १० हजार, लाख वा एक करोड । भारतको एक धार्मिक स्थलमा भने विश्वलाई नै चकित पार्ने गरी तिर्थालु पुगेका छन् । भारत उत्तरप्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाले विश्वमै नयाँ इतिहास रचेको दाबी गरिएको छ। महाकुम्भमा स्नान गर्न करिब ५० करोड धार्मिक पर्यटक पुगेको प्रदेश सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ।

हिन्दूहरूमा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीहरूको संगम–त्रिवेणी संगमको किनारमा महाकुम्भ मेला जारी छ। यो महाकुम्भ मेलालाई मानव इतिहासको सबैभन्दा ठूलो धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रमका रूपमा लिइएको छ। जनवरी १३ मा सुरु भएको यो मेला फेब्रुअरी २६ सम्म सञ्चालन हुन्छ।

जनवरी २९ मा भागदौड हुँदा ३० जनाको मृत्यु भएको थियो। भागदौडमा मृत्यु भए पनि तीर्थालु आउने क्रम जारी छ। भारतको उत्तर प्रदेश सरकारले ४५ दिनमा भक्तजनहरूको संख्या ४५ करोड पुग्ने अपेक्षा गरेको गरेको भए पनि महाकुम्भ समाप्त हुन १० बाँकी रहँदा अनुमान गरे भन्दा करिब पाँच करोड बढी तिर्थालु महाकुम्भमा पुगेका छन्। पछिल्लो समय डिजिटल मिडिया र सामाजिक सञ्जालबाट व्यापक प्रचार भएपछि पनि महाकुम्भमा मानव सागर ओइरिएको हो।

प्रयागराजमा विश्वभरबाट धार्मिक पर्यटक आएको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताए। उनका अनुसार दैनिक एक करोड बढी तीर्थालु आएका छन्। विशेष दिनमा यो संख्या बढी छ। चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित क्यामेराबाट महाकुम्भमा आउनेहरूको गणना गरिएको यादवले बताए।

महाकुम्भमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायत धेरै केन्द्रीय मन्त्री, मुख्यमन्त्री र राज्यपालहरू त्यहाँ पुगेर स्नान गरेका छन्। त्यसैगरी, अर्बपतिहरू, बलिउड र भारतीय खेलकुद जगतका सेलिब्रेटीहरू पनि स्नान गर्न पुगे। भारतका खर्बपति ब्यापारी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले पनि परिवारसहित प्रयागराजको संगममा स्नान गरेका थिए।

महाकुम्भ मेला हिन्दू धर्मावलम्बीहरूका लागि सबैभन्दा ठूलो धार्मिक पर्व हो। प्रत्येक १२ वर्षमा एकपटक प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा आयोजित हुने यो पर्वमा करोडौं श्रद्धालुहरू त्रिवेणी संगम, गंगा, गोदावरी स्नान गर्छन्। यहाँ स्नान गरेपछि पापमोचन तथा मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ।

महाकुम्भ २०२५ अन्तर्गत विशेष तिथिहरूमा स्नानको अझै महŒव रहेको छ। मकर संक्रान्ति (जनवरी १४) को पहिलो अमृत स्नानका अवसरमा भक्तजनले त्रिवेणी सङ्गममा पवित्र स्नान गर्छन्। स्नान तिथिहरूमा मौनी अमावस्या (फेब्रुअरी ९) र वसन्त पञ्चमी (फेब्रुअरी १४) प्रमुख मानिन्छन्। शैव, वैष्णव र उदासीन परम्पराका अखाडाहरूले आ–आफ्ना अनुयायीहरूसँग मेलामा भाग लिएका छन्। मेलामा नागा साधुहरूको पनि भिड लागेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भाजपाले महाकुम्भ मेलामा राजनीति पनि गरेको देखिन्छ। महाकुम्भ मेलामा जताततै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र आदित्यनाथका तस्बिर राखेका होडिङ बोर्डहरू राखिएका छन्।

भाजपा सरकारले २०२५ को महाकुम्भ मेलालाई एक सय ४४ वर्षको अन्तरालपछि भएको महाकुम्भ मेला भनेर प्रचार गरेको छ। कुम्भ मेलाको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा महाकुम्भ मेला प्रत्येक एक सय ४४ वर्षमा, पूर्ण कुम्भ मेला (केएम) प्रत्येक १२ वर्षमा, अर्ध कुम्भ मेला (एकेएम) प्रत्येक ६ वर्षमा र गंगा नदी र यसको सहायक नदी यमुनाको किनारमा प्रत्येक वर्ष माघ मेला आयोजना गरिँदै आएको उल्लेख छ। विश्वभरका भक्तजनहरू पुगिरहेका छन्। भारत, नेपाल, ग्रीस, बेल्जियम, अमेरिका, जापान, थाइल्यान्डलगायत विभिन्न देशका पर्यटक त्यहाँ पुगेका छन् ।

महाकुम्भकमा आगन्तुकहरूको ओइरो लागेपछि भीड व्यवस्थापन चुनौती बनेको छ। मेला क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाइएको छ। मेला क्षेत्रमा भिआइपी, अति आवश्यक र आपतकालीन सेवाहरू मात्र अनुमति दिएको छ। मेलामा भक्तालु पु¥याउन भारतीय रेलवे सेवालाई पूर्ण क्षमतामा सञ्चालन ल्याइएको छ। प्रयागराज जक्सनसहित सबै आठ स्टेसनहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ।

सरकारले सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षाकर्मीको व्यापक परिचालन, एआई–सञ्चालित सिसिटिभी क्यामेरा, ड्रोन निगरानी गरिएको छ। करोडौं तिर्थालु पुगेर स्नान गर्ने भएकाले कुम्भ आसपासमा सरसफाइ व्यवस्थित बनाइएको छ। फोहोर हुन नदिन करिब २२ हजार सरसफाइ कर्मचारी खटाइएको छ। कुम्भ मैदानमा हजारौं जैविक शौचालय र स्वचालित फोहोर व्यवस्थापन एकाइहरू रहेका छन्। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार