तानसेन । मौरीको गोला बिक्री गरेर पाल्पाका किसानले वार्षिक दुई करोड बढी आम्दानी गर्न सफल भएका छन् । जिल्लाको बगनासकाली–७, खानीगाउँस्थित ‘रानीमहल मौरीपालन कृषक समूह’मा आबद्ध किसानले मौरीको गोला बिक्री गरेर वार्षिक दुई करोड बढी आम्दानी गर्न सफल भएका हुन् ।
समूहमा आबद्ध ३१ जना किसानले वर्षभरिमा दुई हजार तीन सय बढी मौरीको गोला बिक्री गर्दै आएका छन् । प्रतिगोला मौरीको मूल्य सात हजारदेखि आठ हजार पर्ने गरेको छ । यहाँका कृषक समूहले वर्षमा दुई हजार तीन सय बढी मौरीका गोला बिक्री गर्दै आएको अध्यक्ष गिरीप्रसाद गैरेले बताउनुभयो ।
पाँच वर्षअघिदेखि सुरु गरेको मौरीको गोला उत्पादनको कामबाट उनीहरू उत्साहित छन् । गैरेले अनुसार मौरीको प्रजाती (वंश) हुर्काउने र बिक्री गर्ने काम आफूहरूले गर्दै आएको बताउनुभयो । उहाँका अनुसार हाल मौरीको गोला पाल्पा गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही, दाङ्, रोल्पा, सल्यान, गोरखालगायतका जिल्लामा जाने गरेको छ ।
किसानले एउटा मूल घारबाट वर्षभरिमा चारदेखि आठ गोला मौरी उत्पादन गर्दै आएका छन् । मौरीलाई दिने खाना, हेरचाह र गोला छुट्याउने विधिले मौरीको सङ्ख्यामा भर पर्ने किसानको बुझाइ छ । एउटा मौरीको गोलामा भित्र फ्रेम राखिन्छ । ती फ्रेममा चाका र मौरीका बच्चा हुन्छन् । छ वटा फ्रेममा चाकासहित मौरीले भरिएको छ भने त्यसलाई राम्रो गोला मान्न सकिने गैरेको भनाइ छ ।