काठमाडौं, कात्तिक ७ । सर्लाही र धनुषाका प्रहरी उपरीक्षक (एसपी) हरु हेडक्वार्टरमा तानिएका छन् । सर्लाहीका एसपी सन्तोषसिंह राठौर सार्वजनिक स्थानमै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित तास खेलेको प्रकरणमा हेडक्वार्टर तानिएका हुन ।
आफ्नो पदीय दायित्व भुलेर सर्लाहीका प्रजिअ महतो, प्रहरी प्रमुख एसपी राठौर र सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठलगायत सुरक्षा अधिकारीले सार्वजनिकस्थलमै तास खेलिरहेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो ।
प्रहरी महानिरीक्षक शैलेश थापाले राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर उनको स्थानमा एसपी कृष्ण प्रसाईलाई पठाउने निर्णय लिएका छन्। राठौर २०७७ भदौ ४ गते सर्लाही प्रहरी प्रमुख बनेर खटिएका थिए ।
उता जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटलाई पनि तानिएको छ । जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले हिलो दलेर बजार घुमाउँदा पनि सुरक्षा दिन नसकेको भन्दै रानाभाटलाई केन्द्रमा तानिएको हो ।
उनलाई केन्द्रमा तानेर धनुषामा एसपी वसन्त रजौरेलाई पठाइएको छ। आइजी थापाले रानाभाटलाई कार्य विभागमा सरुवा गरेका छन् । रानाभाटमाथि खानेपानीका निमित्त कार्यालय प्रमुखलाई हिलो लगाएर दुर्व्यवहार गर्दै बजार घुमाउँदा पनि थाहा नपाएको र जिल्लाको सुरक्षामा लापरबाही गरेको आरोप प्रहरी प्रधान कार्यालयले लगाएको छ ।