एक्लिँदै देउवा

297 Shares

काठमाडौँ । गगन थापालाई सभापति अस्वीकार गर्दै बेग्लै महाधिवेशनको तयारी थालेको नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लिँदै गएका छन् । सभापति थापाको आह्वानलाई स्वीकार्दै देउवा समूहका प्रभावशाली नेताहरू आज सानेपा फर्किएपछि देउवा दबाबमा परेका हुन् ।
देउवानिकट नेताहरू डिना उपाध्याय, किशोरसिंह राठोर, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ, गोविन्द भट्टराईलगायत आज सानेपा पुगेर गगनको क्याम्पमा बसाई सरे ।
उनीहरु पार्टीले असोज ३ गतेबाट सुरु गर्ने वडा अधिवेशनमा सहभागी हुँदै छन्। लामो समयदेखि देउवा समूहमा रहेका नेताहरू गगनतिर लागेपछि देउवा अफ्यारोमा परेका छन्। १४ औँ महाधिवेशनमा देउवा समूहबाट पदाधिकारीमा निर्वाचित उमाकान्त चौधरी मात्रै उनको साथमा छन् । चौधरीले नै मंसिरमा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएका थिए ।
देउवा र तत्कालीन पूर्णबहादुर खड्कानिकट ५० भन्दा बढी नेताहरू आज सानेपामा पुगेको नेता मीनबहादुर विश्वकर्माले बताए । उनले भोलि बेलुकासम्म कार्यसमितिका ९० प्रतिशत सदस्यहरू संस्थापन पक्षमा समाहित हुने दाबी गरे ।
आफूहरूले अघि सारेका आठ बुँदे माग पूरा भएपछि बैठकमा सहभागी भएको बताए । उनले आफूले पूर्वसभापति देउवालाई धोखा नदिएको समेत प्रस्ट पारे । उनले भने, ‘शेरबहादुर देउवा अहिले कुनै पनि पदको उम्मेदवार हुनुहुन्न । उहाँको दोस्रो कार्यकालको अवधि पनि मंसिरमा सकिँदै छ र उहाँले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नु नै हुनेछ । रुख चिह्न, चारतारे झन्डा र आधिकारिक कांग्रेसलाई बलियो बनाउन हामी यहाँ आएका हौँ ।’
अर्का नेता रामहरि खतिवडाले पनि आफूहरू पार्टी एकतामा जोड दिएको बताए । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट मानिएका नेता खतिवडाले रुख र चार तारे झन्डा भएको ठाउँमा आफूहरू उभिएको बताए ।
उनले भने, ‘हामी पार्टी मिलाउनुपर्छ भन्ने पक्षमा छौँ। सबैसँग कुराकानी भइरहेको छ। फुट्ने होइन, जुट्ने अभियानमा लागेका छौँ ।’
यी नेता मात्रै देउवासँग बाँकी रहे
मंसिरमा बेग्लै महाधिवेशन गर्न दाबीसहित बेग्लै कार्यतालिका ल्याएको पूर्वसभापति देउवा अन्तिम समयमा एक्लिँदै गएका छन् । विश्वासपात्रहरूले पनि एकपछि अर्को गर्दै साथ छाडेपछि देउवालाई राजनीति उत्तरार्धमा अफ्ठेरोमा फसेका हुन् ।
उनले मङ्गलवार एक वक्तव्य जारी गर्दै आफूलाई पदको लोभ नभएको र आफ्नै नेतृत्वमा महाधिवेशन गराएरै बिदा हुन चालेको बताएका थिए ।
उनले भनेका थिए, ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन । अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन । तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन । देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो ।’
कांग्रेसको विधान र नेपालको संविधानबमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि सहमति बेगर हतारमा कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेमा आफू हुँदा मूकदर्शक नबन्ने चेतावनी दिएका थिए ।
बेग्लै महाधिवेशन आँटेका देउवासँग अहिले डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, उमाकान्त चौधरी, प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद, मोहन बस्नेत, कान्छाराम तामाङलगायत मात्रै साथमा छन् । अधिकांश प्रभावशाली नेताहरू गगनतिरै खुले ।
देउवालाई गगनको आग्रह
त्यसो त आजको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई असोज १६ गते हुने महाधिवेशनको उद्घाटन गर्न आइदिन आग्रह गरे ।
उनले भने, ‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ । अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ ।’ उनले पार्टी एकता कायम राख्नको अधिकतम लचकता अपनाउन तयार रहेको बताए।
संस्थापन पक्षको लचकता
इतर पक्षका नेताहरूलाई समेट्नको लागि आजको बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई पुरानै हैसियत दिने निर्णय भएको प्रवक्ता देवराज चालिसेले बताए।
अधिवेशनबाट कुनै पनि सदस्य वञ्चित हुनु नपर्ने गरी साङ्गठनिक व्यवस्था मिलाइएको उनको भनाइ छ । असन्तुष्ट नेताहरूले अघि सारेको माग सम्बोधन भइसकेको भन्दै पार्टीका अब कुनै इतर समूह भन्ने नरहेको दाबी गरे ।
उनले भने, ‘कोही छुट्दैन, कसैको आवाज दबाइँदैन, कोही यसमा अन्यथा हुँदैन । सबैको साझा घर हो, साझा प्रयासले नै हामी आफ्नो उचाइमा पुग्न सक्छौँ भन्ने मान्यता आजको बैठकले स्थापित गरेको छ । सबै साथीहरूलाई स्वागत पनि गरेका छौँ, देशभरिका साथीहरूलाई हामीले अधिवेशनमा उत्साहपूर्वक सहभागिताको लागि आह्वान पनि गरेका छौँ ।’
डा. शेखर कोइराला, पूर्णबहादुर खड्का र शेरबहादुर देउवालाई महाधिवेशनमा ल्याउनको लागि अन्तिम समयसम्म प्रयास गर्ने बताए ।
उनले भने, ‘सभापतिले पूर्व सभापति शेरबहादुर देउवाको हातबाट महाधिवेशनको उद्घाटन गर्न अनुरोध गछौँ। आज सभापतिले पनि भन्नुभएको छ । उहाँलाई अनुरोध गर्छौँ आउने नआउने उहाँको कुरा हो। अग्रजलाई सम्मानमा कुनै कमी हुँदैन । यसमा कुनै काखा पाखा हुँदैन ।’

१६ मा हुने महाधिवेशनले एकताको सन्देश दिने उनको भनाइ थियो। उनले थपे, ‘ठूलो सङ्ख्यामा आइसक्नुभएको छ। अरूसँग पनि वार्ता हुँदै छ। लगभग पुरानो केन्द्रीय समितिको ८० प्रतिशत सहभागी हुनुहुन्छ ।’
अलमलमा पूर्णबहादुर र शेखर
गगनले देउवा समूहका अधिकांश नेताहरूलाई आफूतिर तान्न सफल भएपनि पूर्णबहादुर खड्का र शेखर कोइराला भने अझै अलमलमा परेका छन् । खड्कानिकट नेताहरू गगनको साथमा पुगिसकेका छन् ।
सर्वोच्चमा आफूले हालेको मुद्दा विचाराधीन रहेकाले खड्का भने नैतिक रूपमा महाधिवेशन प्रक्रियामा सहभागी नहुने अडानमा छन् । त्यसो त पार्टीभित्रको विवादमा मध्यमार्गी भूमिका खेल्ने भन्दै बसेको शेखर कोइराला भने अझै अनिर्णीत छन् ।
उनलाई पनि अधिकांश नेताहरूले साथ छाडिसकेका छन्। एक्लिँदै गएकाले शेखरले आज एक वक्तव्य जारी गर्दै पार्टी एकताका लागि मध्यमार्गी भूमिका खेल्ने जानकारी गराएका छन्। पार्टीलाई एकताबद्ध बनाउने प्रयत्न सफल हुने उनको विश्वास छ ।
उनले भने, ‘हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिन । हामी उठ्छौँ जुट्छौँ र जित्छौँ, यही भरोसा र विश्वासबाट साधारण भन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुट्न सक्छ ।’
कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई फरकरुपमा बुझ्न नसक्ने भन्दै संवाद लिएर कांग्रेस एकताको लागि लाग्ने बताए।
विज्ञप्तिमा भनिएको छ, ‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिन। म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छु रु कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइ माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिन।’
उनले पार्टीभित्रको विवादमा आफू मध्यमार्गी भूमिकामा रहेको उल्लेख गरेका छन् ।
के भन्छ देउवा पक्ष ?
देउवा पक्षका नेता शंकर भण्डारी केही व्यक्तिले साथ छाड्दैमा आफूहरूले अघि सारेको महाधिवेशन कार्यतालिका प्रभावित नहुने बताए ।
उनले भने, ‘महाधिवेशन कसरी रोकिन्छ ? अहिले केही केन्द्रीय समितिमा रहेका साथीहरूको टाउको गनेर सिङ्गो कांग्रेसको समीक्षा गर्नु सान्दर्भिक हुँदैन, त्यो वस्तुपरक हुँदैन, त्यो पूर्ण हुँदैन ।’
उनले केही व्यक्तिहरूले आफूले गगन थापामाथि लगाएको आरोप समेत भुल्दै लाज पचाएर केही नेताहरू सानेपा पुगेको टिप्पणी गरे। उनले देउवाको साथ छाडेर सानेपा पुगेका नेताहरूप्रति चर्को असन्तुष्टि जनाए ।
उनको भनाइ जस्ताको तस्तै— कांग्रेसमा विदेशी शक्तिको प्रत्यक्ष प्रभावमा परेको छ । जो विदेशी शक्तिका लागि काम गर्छन् र उनीहरूबाट परिचालित छन्, तिनको पहिचान हुन जति ढिला भयो, त्यति नै पार्टीलाई क्षति हुन्छ भनेर मैले भन्दै आएको थिएँ ।
यद्यपि, अहिले पार्टीका कतिपय साथीहरूलाई लिएर सबै साथीहरू फेरि त्यही प्रकारका हुन् भन्ने मेरो भनाइ होइन । भन्न पनि मिल्दैन । सबै त्यस्ता हुँदैनन् । पार्टीको चिन्ता छ, रूपान्तरणको चिन्ता छ भन्ने छ । चिन्ता त हामीलाई पनि छ नि । हाम्रो पनि यो पार्टीमा जीवन गएको छ । यो पार्टीले हामीलाई अवसर पनि दिएको छ ।
तर केही पात्र चाहिँ यस्ता छन्, जसको तर्क छैन । हिजो गगन थापाजीसँग सहमत नभइन्जेल सबैभन्दा चर्को रूपमा गगन थापाजीको आलोचना गरे । आज चाहिँ लाज–शरम पनि नराखी, आफूले हिजो के बोलेँ, किन बोलेँ भन्ने कुराको हेक्का नराखी त्यसको फेरि ठीक विपरीत, गगन थापाकै नेतृत्वमा अब हामी समाहित हुनुपर्छ, शेरबहादुरजी नै आउनुहुन्छ जस्ता अभिव्यक्तिहरू दिइरहेका छन् ।
त्यो कुरा नेपाली राजनीतिमा थोरै पनि जानकारी राख्ने कुनै पनि व्यक्तिले अब कुनै भ्रम नराखी बुझ्नसक्छ । कांग्रेसभित्र वास्तवमा निष्ठा र सिद्धान्तको राजनीति गर्ने मान्छे कति रहेछन् भन्ने कुरा छुट्याउन सकिन्छ। त्यसकारण केही पात्र निश्चित रूपमा परिचालित थिए । अहिले उनीहरूले आफ्नो रूप फेरेका छन्। उनीहरूमा कुनै इमानदारिता, नैतिकता र जिम्मेवारी देखिँदैन।
अब केही साथीहरूका हकमा प्राविधिक कुरा पनि छ। यद्यपि एउटा निस्सा दिइएको छ, त्यसको निरूपण भएको छैन। निस्सा किन दिइएको हो रु निस्सा दिइसकेपछि त्यसको निरूपण नभई अदालती प्रक्रिया टुङ्गिँदैन। त्यसैकारण सङ्घीय संसद्, राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै पालिका र वडा तहसम्म प्रतिनिधित्व भएका कतिपय साथीहरू हुनुहुन्छ। त्यहाँ केही प्राविधिक पक्ष पनि छन्, त्यो हामीले बुझ्नुपर्छ ।
कांग्रेसमा मलाई एउटा कुरामा आज सन्तुष्टि मिलेको छ भने केही पात्रहरू देखिनु थियो, चिनिनु थियो, उनीहरू देखिए। समग्र पार्टीको चिन्ता हामीलाई छ नै। कांग्रेसजस्तो पार्टीमा आज जुन असहज र अत्यन्त दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको छ, यो चिन्ताको विषय हो। यो अप्ठ्यारो परिस्थिति पनि हो ।
भदौ २३–२४ गतेको घटनालाई लिएर गगनजीहरूले पार्टीको आधिकारिकता लिए पछि त्यसको समीक्षा किन नगर्नुभएकोरु पार्टीमा सधैँ सम्भावना भएको बहुचर्चित नेता गगन थापा हुनुहुन्छ । उहाँ स्वयं पार्टी सभापति भएर भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिनुभयो। पार्टी कार्यसमितिमार्फत आफैँ घोषणा गर्नुपर्‍यो। अहिले गगनको हातबाट टिकट लिनेहरू भन्ने प्रश्न पनि छ। ठिकै छ, त्यसको छलफल फेरि गरौँला ।
तर टिकट लिइसकेपछि चुनाव जित्न लागे नि । चुनावमा उम्मेदवारी दर्ता गरेपछि आफू जित्न पनि मिहिनेत गरे होलान् नि, कम्तीमा । त्यसकारण सबैले चुनाव जित्न मिहिनेत गर्दा, सबै पक्ष चुनावमा सहभागी हुँदा १० लाख भोट घटेको छ। गगनजी आफैँ पराजित हुनुभएको छ। सत्य कुरा त यही हो ।
यो विषयमा यसको समीक्षा हुन आवश्यक छ कि छैन ? यसप्रतिको जवाफदेहिता र जिम्मेवारी हुन्छ कि हुँदैन रु यो कुनै व्यक्तिको आलोचना र टिप्पणी मैले गरिराखेको होइन । यो राजनीतिको कुरा हो । राजनीतिमा जिम्मेवारीको कुरा, जवाफदेहिताको कुरा हुन्छ कि हुँदैन ? आवश्यक छ कि छैन ? बहानाबाजी, तिकडमबाजी गरेर, आफ्नो हैसियत देखाउन नसकेर, कसैको दबाब र प्रभावमा खुम्चिएर पाएको अवसर उहाँले पनि सदुपयोग गर्न सक्नुभएन। उहाँका लागि पनि यो दुर्भाग्य हो ।
त्यो समीक्षा भविष्यमा हुँदै जाँदै छ । गगन थापा जत्तिको व्यक्तिको पनि विश्वसनीयता घट्नु, भरोसा घट्नु, उहाँ असफल हुनु यो फेरि पार्टीका लागि चिन्ताको विषय हो । त्यो चिन्ताको विषय हो भन्ने हामीलाई लाग्छ । त्यसकारण कांग्रेसजनलाई मेरो आग्रह छ, विदेशी शक्तिबाट परिचालित व्यक्तिहरूको पार्टीमा पहिचान हुन जरुरी छ । यो देश हामीले बनाउने हो। विदेशीको इच्छाअनुसार हामी चल्ने होइन। उनीहरूले आफ्नो लागि, आफ्नो देशका लागि स्वार्थ हेरेका छन्, हाम्रा लागि माया गरेका होइनन् ।
कांग्रेसले विचार, सिद्धान्त र मुद्दायुक्त कांग्रेस तथा एकताबद्ध कांग्रेस बनाउन आवश्यक छ। त्यसकारण यहाँ धेरै उत्तेजनामा आउनु, कोही साथी आत्तिन आवश्यक छैन। त्यो सान्दर्भिक हुँदैन। बरु गम्भीर भएर आआफ्नो आत्मसमीक्षा गरौँ। जो पार्टीको बढी जिम्मेवारीमा बस्यौँ, नेतृत्वमा बस्यौँ, पार्टीमार्फत सांसद भयौँ, मन्त्री भयौँ, समीक्षा गरौँ।
ठिकै छ, जान अन्जानमा विदेशीको प्रभावमा पर्‍यौँ, सहयोग लियौँ, बन्यौँ। अब त्यसबाट माथि उठेर केही पाइएला, नपाइएला पाउनु आफूले पाउनु भन्दा पनि पार्टी जोगाउने र देश बनाउने काममा समर्पित होऔँ। त्यही कांग्रेस कांग्रेस हुनेछ र त्यही कांग्रेसले देशलाई निकास दिनेछ।

सम्बन्धित समाचार