काठमाडौं– पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
अभियानको १२ औँ दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरूले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यस हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरूलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।
माघ २२ गते सुरु भएको अभियान फाल्गुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।