काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको मिति चारपटक सारेर मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
विधानअनुसार गत फागुन २० गते नै म्याद सकिएको कांग्रेसको वर्तमान केन्द्रीय समितिले कोरोना महामारीका कारण महाधिवेशन गर्न नसकिएको भन्दै निर्वाचन आयोगलाई संविधानअनुसार अधिवेशन गर्ने पत्र बुझाएर गत भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने निर्णय गरेका थियो ।
तर, त्यस अवधिमा महाधिवेशनका आवश्यक तयारी गर्ने भन्दा क्रियाशील सदस्यतामा विवाद बढेपछि मंसिर ९ देखि १३ गतेसम्मका लागि सारिएको थियो । संविधानअनुसार भदौ २० गते वैधानिकतामा प्रश्न उठ्ने भएपछि भदौको १८ गतेबाट कांग्रेसले वडा अधिवेशन थालेको थियो ।
तर अहिलेसम्म १३ जिल्लामा कांग्रेसले क्रियाशील सदस्यको नामावली नै नटुंग्याउँदा वडा अधिवेशन सुरु हुन सकेको छैन । १३ जिल्लामध्ये प्रदेश २ का सबै जिल्लामा विवाद देखाइएको छ ।
संस्थापनले आफूलाई बलियो बनाउन राप्रपा, फोरम र अखण्ड पार्टीसहितका नेताका नाममा क्रियाशील सदस्यता थपिरहेको आरोप संस्थापनइतरले लगाइरहेको छ । कांग्रेसमा आरोप प्रत्यारोप जारी रहँदा आगामी मंसिर ९ देखि १३ सम्मका लागि घोषित महाधिवेशन पनि प्रभावित हुने देखिएको छ । “मंसिरको अन्तिम सातासम्म अधिवेशन सम्भव भएन भने पनि पुसको पहिलो वा दोस्रो हप्ताभित्र कांग्रेसको महाधिवेशन गर्नैपर्छ,” कांग्रेसका एक पदाधिकारीले भने, “त्योभन्दा पछि स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आउँछ । चुनावमा अरु पार्टीसँग लड्नुपर्छ कांग्रेस आफैँभित्र लड्न थाल्यो भने त्यसले राजनीतिक रुपमा घाटा पुर्याउँछ ।”
उनका अनुसार मंसिर नलाग्दासम्म यति नै समय चाहिन्छ भन्न भने सकिने अवस्था छैन । “अहिले जिल्ला अधिवेशनसम्म टुंग्याएर प्रदेश महाधिवेशनको तयारीमा जुट्नुपर्ने समय भयो तर, धेरै जिल्लाको क्रियाशील सदस्यता नै टुंग्याउन सकिएको छैन,” सभापति देउवा पक्षकै ती पदाधिकारीले भने, “त्यसैले महाधिवेशन सर्ने निश्चित भए पनि कति समय सर्ने भन्ने विषय छलफलबाट टुंगो लाग्छ ।” उनका अनुसार धेरै पछाडि सार्न भने राष्ट्रिय परिस्थितिका कारण नमिल्ने अवस्था छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत अहिले नै कति समय सर्छ भन्ने अवस्था नरहेको बताउँछन् । “दसैं सुरु भएपछि महाधिवेशनका गतिविधि रोकिएका छन् । तीन जिल्लाको क्रियाशील विवाद बाँकी छ । त्यहाँ टुंग्याएर बाँकी जिल्लाको वडा अधिवेशन गर्न पाए अधिवेशन अघि बढ्न सक्थ्यो । तर, अझै तिहारसम्म धेरै काम होला जस्तो देखिँदैन,” डा. महतले भने, “म छठपछि लगातार प्रक्रिया अघि बढ्छ भन्न सक्छु । तर, महाधिवेशनको मिति कति दिन सर्न सक्छ भन्ने कुरा भने अहिले नै भन्न सक्ने अवस्था छैन ।”
क्रियाशील सदस्यता छानविन समितिको संयोजक भएर काम गरेका नेता रमेश लेखक महाधिवेशन सर्ने निश्चित भए पनि कति समय सर्छ भनेर भन्न सकिने अवस्था नभएको बताउँछन् । तिहारसम्मको प्रगति हेरेर कति समय लाग्छ भन्ने आकलन हुने र त्यसपछि मितिका विषयमा निर्णय हुने उनको भनाइ छ । “अब तिहारसम्मको प्रगति हेरेर तिहारपछि महाधिवेशनको मितिबारे निर्णय हुन्छ,” लेखकले भने, “त्यतिबेलासम्म के कति प्रगति हुन्छ, त्यसका आधारमा आवश्यक समय राखेर महाधिवेशनको मिति तय हुन्छ ।” संस्थापनइतर समूहले भने सभापति देउवाले तीन तहका चुनाव सकेर मात्र अधिवेशन गराउन चाहेको भन्दै त्यसलाई नमान्ने तयारी गरेको छ । संस्थापनइतर पक्षका एक केन्द्रीय सदस्यका अनुसार संस्थापनइतर समूह अहिले अमुर्त छ । त्यहाँ बाहिरबाट हेर्दा समूहको स्वरुप देखिए पनि सभापतिका आकांक्षी व्यवस्थापन नहुँदासम्म समुहको प्रतिनिधित्व हुने अवस्था छैन ।
“शशांक कोइरालालाई संस्थापनइरत मान्ने हो भने उनी देउवाका लागि सहज बनेर काम गरिरहेका छन्, रामचन्द्र पौडेललाई मान्ने हो भने उनलाई कोइरालादेखि प्रकाशमान सिंहसम्मले साथ नदिएको अवस्था छ,” ती केन्द्रीय सदस्यले भने, “शेखर विभिन्न जिल्लामा गएर बोल्ने गरे पनि शीर्ष (पदाधिकारी तथा पूर्वपदाधिकारी) बैठकमा संस्थापनइतरको प्रतिनिधित्व गरेर आफ्ना कुरा राख्नै पाउँदैनन् । प्रकाशमान सिंह पनि आफैँ सभापति भन्दै हिँड्नुभएको छ, अरु नेताको साथ उहाँलाई पनि देखिँदैन । संस्थापनइरत अहिलेकै कार्यशैलीमा देउवाले चाहेका बेला गराएको महाधिवेशनमा सहभागी हुने अवस्थामा मात्र सीमित छ ।”
“महाधिवेशनको मिति तथा समूहगत एजेन्डा पनि यो समूहले राख्ने र प्रभावकारी रुपमा त्यसलाई कार्यकर्तासम्म पुर्याउने अवस्था देखिँदैन,” ती नेताले भने, “जब आफ्नो समूह नैं इन्ट्याक्ट छैन, समूहको एउटै धारणा छैन र समूहगतरुपमा नेगोसिएशन पनि हुँदैन भने समूह स्थापित हुने र उसको माग सम्बोधन हुने सम्भावना पनि कमजोर हुन्छ ।”
ती केन्द्रीय सदस्यका अनुसार सभापति देउवालाई वैधानिकताको झन्झट सकिएकाले उनले अनुकूलमा मात्र महाधिवेशन गराउँछन् ।
“छिटोमा सभापति देउवाले माघमा महाधिवेशन गराउने सम्भावना छ । तर, उनका लागि अनुकूल भएन भने प्राथमिकतामा महाधिवेशन रहँदैन,” ती केन्द्रीय सदस्यले भने, “उनले तीन तहको निर्वाचन आफ्नै नेतृत्वमा गराएपछि मात्र केन्द्रीय महाधिवेशन गराउन सक्छन् ।”
उनका अनुसार त्यस्तो अवस्था आयो भने ०७९ सालको अन्त्यतिर मात्र कांग्रेसको महाधिवेशन हुन सक्छ । कांग्रेस सभापति देउवाले प्रतिस्पर्धामा आफूलाई सहज नदेख्दासम्म अधिवेशन नगराउने उनको दाबी छ । उता देउवाले भने सुदूरपश्चिम भ्रमणका क्रममा महाधिवेशन सर्ने नसर्ने भन्ने विषयमा निर्वाचन समितिलाई नै सोध्न आग्रह गरेका थिए ।