देउवालाई उत्तराधिकारी तोकिहाल्न दबाब

7.4k Shares

काठमाडौँ - नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने कुनै निश्चित छैन। तर कांग्रेसका नेताहरूलाई मात्र होइन, तल्लो तहका कार्यकर्तालाई पनि पार्टीको महाधिवेशन लागेको लामै समय भइसकेको छ। कांग्रेसका नेताहरू आगामी महाधिवेशनबाट पार्टी नेतृत्वदेखि विभिन्न जिम्मेवारीमा पुग्ने दौडमा छन्। त्यसका लागि छुट्टै गुट बनाउनेदेखि पद सुरक्षित गर्न गुट परिवर्तन गर्नसमेत सक्रिय भइरहेका छन्। सोही बेला १४औं महाधिवेशनबाट शेरबहादुर देउवालाई पुनः पार्टी सभापतिमा निर्वाचित गराउन एक ठाउँमा उभिएका नेताहरू १५औं महाधिवेशनको पूर्वसन्ध्यामा फेरि एक ठाउँमा उभिएका छन्।  

विधानको व्यवस्थाअनुसार आगामी मंसिरभित्र १५औं महाधिवेशन गर्नुपर्ने हुन्छ। तर २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस विधानले तोकेको चार वर्षभित्र कहिल्यै महाधिवेशन भएको छैन। विधानमा देखिएको अतिरिक्त सुविधा मात्र होइन, संवैधानिक सुविधालाई समेत कतिपय बेला उपयोग गरेर कांग्रेसले विगतमा महाधिवेशन गर्दै आएको छ। १५औं महाधिवेशन पनि विधानले तोकेको चार वर्षभित्र हुनेछैन।

आगामी महाधिवेशनबाट शेरबहादुर देउवाले पुनः सभापतिको प्रत्यासी बन्न पाउनेछैनन्। देउवाको विश्वास लिएर पार्टी नेतृत्वमा पुग्ने होडमा दोस्रो तहका नेताहरू जुटिरहेका बेला १४औं महाधिवेशनपछि पहिलो पटक उनलाई सहयोग गरेका नेताहरूले एकैसाथ उनलाई भेटेका छन्।

पार्टी पदाधिकारी, पूर्वपदाधिकारीसहितका प्रभावशाली एक दर्जनभन्दा बढी नेताहरूले शुक्रबार पनि देउवालाई उनकै निवासमा भेटे। देउवालाई पार्टीको १०औं महाधिवेशनदेखि नै साथ दिँदै आएका अधिकांश नेता पार्टीको १५औं महाधिवेशनमा उक्त समूहबाट सभापतिको उम्मेदवार को हो भन्ने चासो राखेका थिए।

त्यति मात्र होइन, आफूहरूमध्येबाट उत्तराधिकारी बनाउन सहभागी नेताहरूले देउवालाई आग्रह गरेका थिए। आफू सबैको सभापति भएको भन्दै गुटको भेला बोलाउन नमिलेको र आफूलाई साथ दिएका नेताहरूबाटै १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने देउवाले आश्वासन दिएका छन्।

सहभागी नेताहरूले पार्टी सभापति भएकाले गुटको कुरा गर्न मिलेन भनेर भाग्न र छाड्न देउवाले नमिल्ने भन्दै सभापतिमा चर्चामा रहेका विभिन्न नामप्रति चासो राखेका थिए। जवाफमा देउवाले महाधिवेशन आउन झन्डै दुई वर्ष बाँकी रहेको भन्दै परामर्शमै उम्मेदवार टुंगो लगाउने वचन दिएका छन्। पार्टीको १५औं महाधिवेशन आफू प्रधानमन्त्री बनेपछि मात्र गर्ने भनी नेताहरूलाई देउवाले स्पष्ट पारेका छन्।

एमालेसँगको गठबन्धन तत्काल तोड्ने पक्षमा नरहेका देउवाले सात बुँदे सहमतिको कुरा स्मरण गराएका थिए। त्यसमा ओलीपछि कांग्रेस सभापति प्रधानमन्त्री बन्ने उल्लेख छ। आफूहरूलाई सभापतिले बेवास्ता गरेको गुनासो नेताहरूले गर्दै पोखरामा भएको जिल्ला सभापतिहरूको भेला, सरकारले ल्याएको अध्यादेशसहितका विषयमा उनीहरूले चासो राखेका थिए।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले आफूसहितका कतिपय नेताले १०औं महाधिवेशनदेखि साथ दिएको जनाउँदै अबको महाधिवेशनमा सबैलाई समेट्ने र अट्ने सिनियर नेतालाई नेतृत्वमा अघि सार्नुपर्ने तर्क गरेका थिए।

१४औं महाधिवेशन विमलेन्द्र निधि र प्रकाशमान सिंह दोस्रो चरणमा मात्र जोडिन आएको भन्दै आफूले देउवालाई बिनासर्त नेतृत्वमा सहयोग गरेकाले १५औंमा आफूलाई सहयोग गर्नुपर्ने आशय व्यक्त गरेको निकट स्रोतको दाबी छ। पार्टी विभाजन हुँदा देउवा नेतृत्वमा गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकमा सहभागी नेता सिंह १२औं महाधिवेशनमा सुशील कोइराला समूहबाट महामन्त्री निर्वाचित भएका थिए। १३औं महाधिवेशन रामचन्द्र पौडेलको पक्षमा उभिएका सिंह १४औं महाधिवेशनमा देउवासँगै नेतृत्व प्रतिस्पर्धामा उत्रिएका थिए। तर दोस्रो चरणमा गएको निर्वाचनमा उनले देउवालाई नै समर्थन गरेका थिए। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार