प्युठान । ऐरावती गाउँपालिका –३ थारदमार प्युठानकी सुस्मिता थापालाई ब्लड क्यान्सर छ । १३ वर्षीया थापाको अहिले कान्ति वाल अस्पाताल महाराजगञ्ज काठमाडौंमा उपचार भइरहेको छ । क्यान्सरका विरामीका लागि संघीय सरकारले एक लाख रुपियाँ उपचार खर्च दिने जानकारी पाएपछि बुवा लोकबहादुर थापा ऐरावती गाउँपालिकामा सिफारिसका लागि पुग्नुभयो ।
क्यान्सरका विरामीलाई प्रदेश सरकारले थप दुई लाख रुपियाँ दिने थाहा पाएपछि पालिकाको सिफारीससहित स्वास्थ्य कार्यालय प्युठानमा पुगेर उपचार सहयोगका लागि सिफारीस गराउनुभयो । अहिले सुस्मिताको उपचार भइरहेको छ ।
गौमुखी गाउँपालिका –६ लिवाङका कृष्ण बोहोरा दुवै मिर्गौला फेल भएर अहिले काठमाडौंमा उपचार गराइरहनुभएको छ । उपचाररत बोहोराको मिर्गौला प्रत्योरापण गर्न गाउँमा सहयोग अभियान चलाइएको छ ।
लुम्बिनी प्रदेश सरकारले उपचारका लागि आर्थिक सहयोग गर्नेबारे जानकारी पाएपछि प्रदेश सरकारको आर्थिक सहयोग पाउन सो प्रक्रिया अघि बढाएको आफन्त पदम केसीले बताउनुभयो । जटिल किसिमका दीर्घरोगी (क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने) विरामीलाई लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने भएपछि यसबाट बिरामीलाई उपचारका लागि सहयोग भइरहेको छ ।