बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तामध्ये चार सय ८७ जना बचतकर्ताको चार करोड रकम फिर्ता गरिएको छ । मुख्य कार्यालय रहेको बागलुङ बजारका दुई सय ४८, ढोरपाटनका ९२ र गलकोट नगरपालिकाका एक सय ४७ जनालाई चार करोड रकम फिर्ता गरिएको हो । सहकारीपीडित सङ्घर्ष समितिको अगुवाइमा एक लाख रुपियाँभन्दा कम बचत गर्नेहरुलाई सरकारी वकिलका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा रकम फिर्ता फिर्ता गरिएको हो ।
अघिल्लो सातादेखि नै बुर्तिवाङ र गलकोट नगरपालिकामा पनि साढे दुई सय ६८ जनालाई रकम फिर्ता गरिसकिएको थियो । मिना ग्रुप कम्पनी प्रालिले साथ दिएपछि साना बचतकर्ताको रकम फिर्ता भएको हो । पहिलो चरणमा साना बचतकर्तालाई फिर्ता दिए पनि समय मिलाएर ठुला बचतकर्ताको पनि रकम फिर्ता गर्ने योजना बनाएको सहकारीपीडित सङ्घर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताउनुभयो । बागलुङमा झण्डै तीन करोड रुपियाँ फिर्ता गरिएको कार्कीले जानकारी दिनुभयो ।