चौतारा । नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानीको लिपिङ खोलामा ‘मेटेरी प्यानेल बृज’ निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न गरी नेपाली सेनाले सोमबार हस्तान्तरण गरेको छ ।
पुल निर्माण सँगै नेपाल–चीनको मुख्य व्यापारिक नाका तातोपानी नाका पूर्णतः सञ्चालनमा आएको छ । सोमबारबाट नयाँ निर्माण भएको पुलबाट मालबाहक सवारीसाधन आवत–जावत सुरु भएको हो ।
गत असोज १२–१३ मा आएको बाढीले बगाएको लिपिङ बजार जोड्ने मोटरेबल पुल बगाएपछि वैकल्पिक बाटो प्रयोग गर्दैआएको लिपिङ खोलामा सोमबारबाट आवत–जावत सुचारू भएको छ । बाढीले पुल बगाएर समस्या भोग्दै आएका नाकावासी र व्यावसायीलाई सोमबार ‘बेलिबृज’ निर्माण सम्पन्न भएसँगै सहज भएको छ ।
नेपाल–चीन जोड्ने उत्तरी नाका लिपिङ खोलामा असोजमा आएको बाढीले पक्की पुल बगाएको पाँच महिनापछी ‘बेलिबृज’ निर्माण भएको छ । नेपाली सेनाको प्राविधिक टोलीले माघ २० गतेबाट जडानको काम थालेको एक हप्तामा जडान कार्य सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ ।
४५.७२ मिटर लम्बाइ रहेको लिपिङ खोलाको बेलिबृज नयाँ भर्सनको ‘बेलिबृज मेटेरी प्यानेल बृज’ रहेको नेपाली सेनाको प्राविधिक टोलीले हस्तान्तरणको क्रममा जानकारी दिएको छ । बेलिबृज निर्माण भएसँगै सेनाले शनिबार र आइतबार ‘लोड टेस्ट’ गरी सोमबार सडक डिभिजन कार्यालय चरिकोटलाई भोटेकोसी गाउँपालिकाको सहभागितामा हस्तान्तरण गरेको हो ।