सर्लाही– सर्लाहीको हरिवन नगरपालिका– ४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन् ।
सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुई गुणाले बढ्ने अपेक्षा गरे । हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना अघि उद्योग सुरु गरेका हुन् ।
चुरेका वनमा खेर गइरहेको साल, भोर्लाको पातबाट दुनाटपरी बनाउने उक्त उद्योगमा महतोले २० जना युवालाई रोजगारी दिएका छन् । हरिवन–१० सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत उनी १२ कक्षापछि वैदेशिक रोजगारीको योजनामा थिए । विदेश भासिने तयारीमा रहेको आफू वडाध्यक्ष केशवराज थापाको सहयोगमा उद्यमी बनेको उनको भनाइ छ ।
बजारमा दुनाटपरीको माग धेरै भएकाले तीन लाख ६० हजार रुपैयाँ पर्ने नयाँ उपकरण जडान गरेको महतोले बताए । उनले यसअघि दुई लाख ४० हजारमा एक थान उपकरण जडान गरेका थिए । त्यसबाट दैनिक विभिन्न पाँच प्रकारका पाँच हजार दुनाटपरी उत्पादन हुने गरेको छ । अब दैनिक १० हजार बढी उत्पादन बजार पु¥याउने उनको लक्ष्य छ ।