काठमाडौँ - नुवाकोटको विदुरस्थित ऐतिहासिक शेरा दरबारले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी कम्पनीका नाममा गएको विषय राजनीतिको शीर्ष तहमै बहस सुरु भएको छ। उक्त जग्गा सरकारका नाममा ल्याउने अन्तिम तयारी भइरहेका बेला नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले त्यसमाथि बहस थालेका हुन्।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा काम गरेका र उक्त पार्टीको केन्द्रीय सदस्यसमेत रहेका विकेश श्रेष्ठको अन्नपूर्ण फार्मिङका नाममा रहेको सो जग्गा सरकारले आफ्नो नाममा ल्याउने तयारी गरिरहेको छ। उक्त विषयमा अध्यक्ष दाहालले छानबिन गर्न माग गर्दै संसद्मा आफ्ना धारणा राखिसकेका छन्। ‘अहिले नुवाकोटको शेरा दरबारलाई चर्चामा ल्याइएको छ। प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ। कतै न कतै त्यसमा प्रचण्ड (पुष्पकमल दाहाल) लाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ। सरकार खोजिरहेको छ– एउटै पनि अपराध गरेन त प्रचण्डले?’
आफूले वाइडबडी, गिरिबन्धु, यती र ओम्नीको चर्चा नगर्ने भन्दै उनले बिहीबारको संसद् बैठकमा सम्बोधन गर्दै भनेका थिए, ‘सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई। म यही रोस्ट्रमबाट भन्छु– शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरु गरौं, मैबाट सुरु गरौं।’
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शेरा दरबारको जग्गा प्रकरणमा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जवाफ फर्काउँदै सो जग्गा सरकारका नाममा आउने बताए। सदनमा बोल्दै दाहालले शेरा दरबारको जग्गा प्रकरणमा आफ्नो संलग्नता भए छानबिन गर्न चुनौती दिएपछि रिमालले सामाजिक सञ्जालमार्फत त्यस्तो जवाफ दिएका थिए।
‘शेरा दरबारको जग्गामा फलेको हरियो मकैको खाजा सगर्व खाएको प्रसंगसहित तपाईंकै परिवारका सदस्यले पोस्ट गरेको फोटो त सार्वजनिक नै छ नि, होइन र ? सिआइबीको छानबिनपछि अहिले त्यो जग्गा सरकारका नाममा ल्याउने प्रक्रियामा छ। संसद्मै प्रश्न उठाउनुभएकाले मात्र यति जानकारी दिएको हो है,’ रिमालले फेसबुकमा लेखेका थिए।
यो विषय राज्य व्यवस्था समितिको बैठकमा पनि उठिसकेको छ। समितिको पुस १८ गते बसेको बैठकमा उपस्थित माओवादी केन्द्रका अध्यक्ष दाहालले शेरा दरबार प्रकरणमा आफ्नो संलग्नता नभएको र सरकारले छानबिन गरेर फिर्ता ल्याए समर्थन गर्ने बताएका थिए। सोही बैठकमा एमालेले शेरा दरबारबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेको थियो। ‘शेरा दरबारबारे भएको के हो? गृहमन्त्रीले स्पष्ट गर्नु आवश्यक छ,’ समितिको बैठकमा बोल्दै एमाले सांसद वासुदेव घिमिरेले भनेका थिए। घिमिरेले गृहमन्त्रीसँग जवाफ मागेपछि दाहालले समेत यसमा सत्यतथ्य छानबिन गरी सरकारका नाममा ल्याउनुपर्ने माग गरेका थिए।
नुवाकोटस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी जग्गा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका विकेश श्रेष्ठले अन्नपूर्ण फार्मिङका नाममा लालपुर्जा रहेको जग्गाको हदबन्दी छुटाएर आफ्नो नाममा ल्याएको थिए। आजको नागरिक दैनिकबाट