हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०-०८१ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो ।
चालु आव २०८१-०८२ को गत साउनदेखि पुस मसान्तसम्ममा मकवानपुरबाट पाँच करोड ५९ लाख सात हजार ९९३ रुपियाँ बराबरको निर्यात गरेको भएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ)का अनुसार गत आव २०८०-०८१ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले २२ करोड ७० लाख ८० हजार ३१० रुपियाँ बराबरको निर्यात गरेका थिए ।
व्यापारिक प्रतिष्ठान र उद्योग गरी गत आवको पहिलो छ महिनामा पाँच वटा र चालु आवको पहिलो छ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकमा निकासी गरेको सङ्घले जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले पछिल्लो समयमा आर्थिक मन्त्रीसँगै लगानीमैत्री वातावरण नभएका कारण अपेक्षा अनुसार निर्यात नभएको बताउनुभयो ।