विवादले रोकियो नारायणीमा ड्याम लगाउने काम

9.7k Shares

नवलपुर । राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

गत वर्षको असोज ११ र १२ गते नारायणीमा आएको बाढी ड्याम भत्काएर बस्तीमा छिर्दा मध्यविन्दुका वडा नं २, ४, ६, १२ र १५ का बस्ती डुवानमा परेका थिए । मानवीय क्षति नभए पनि उर्बरभूमि बगरमा परिणत भएको थियो । कैयौं घरपरिवार अहिलेसम्म पनि विस्थापित भएका छन् । नदी कटानले नन्दपुर, सीतापुर र धजाह बस्ती बढी जोखिममा छन् । 

डुवानबाट जोगाउन नारायणी नदी व्यवस्थापन आयोजना चितवनले झण्डै १० करोड रुपियाँ लागतमा नदी छिरेको स्थान बलघट्टामा ड्याम लगाउने काम गरिरहेको थियो । ड्याममा ग्याबिन तार जाली लगाउने, ठुला ढुंगा किनारमा हाल्ने, कङ्क्रिटका ब्लकसहित ड्याम बनाउने लगायत काम भइरहेको अवस्थामा एक्कासी फागुनसम्मका लागि काम रोकिएको नगरपालिकाले जनाएको छ ।

स्थानीयले कांग्रेस र एमालेका केही नेताहरुको इगोका कारण काम अघि बढ्न नसकेको बताएका छन् । गत वर्षको बाढीले नसोचेको क्षति व्यहोरेको भन्दै यो ठाउँमा तत्काल बाँध नबाध्ने हो भने आगामी वर्षामा यसले झन ठुलो क्षति पुर्याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार