काभ्रे । रोशी गाउँपालिकाले निर्माण भइरहेका ‘गौरवका आयोजना’ गत असोज दोस्रो साता बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माणका लागि माग गरेको छ । गाउँपालिकाले निर्माणाधीन एवं निर्माण सकिएका तीन ठुला गौरवका आयोजना पुनर्निर्माण गर्न सम्बन्धित निकायलाई पत्राचारमार्फत माग गरेको हो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठुला आयोजनामा पूर्ण रूपमा क्षति पुगेको थियो । गाउँपालिका अध्यक्ष दिनेश लामाले ‘गौरव’का योजना मानिएका तीन आयोजनाको पुनर्निर्माणका लागि सङ्घ सरकारलाई पत्राचार गरिएको बताए । उनका अनुसार नेपाल सरकारको सम्बन्धित मन्त्रालयले क्षतिग्रस्त ती आयोजनाको प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् ।
बाढीपहिरोले वडा नं ११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी खोलाले बगाएको छ । सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो । लामाका अनुसार निर्माण सम्पन्न भएको नौ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, वनभोजस्थल, पार्किङस्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको थियो ।