ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुधबार बुद्धि विकास खेलमैदान लगनखेलमा '१४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २०८०'आयोजना भएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्य रहेकाे उक्त कार्यक्रममा निमन्त्रित अग्रज स्रष्टाहरुले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यस्तैमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताए भने बागमती प्रदेश सभा सदस्य तथा आजकाे राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका परिकल्पनाकार मीनकृष्ण महर्जनले खेल क्षेत्रको विकास तथा खेलाडीको उन्नतिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका थिए।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य मदनबहादुर अमात्यले खेलकुुदका माध्यमबाट खेलाडीले नेपालप्रतिको भावना उजागर गरेकामा हार्दिक आभार व्यक्त गरे।
ललितपुर क्षेत्र नं १ का सांसद उदय शमशेर राणा, क्षेत्र नं ३ का सांसद डा तोसिमा कार्की, ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले बर्सेनि हुने यस्ता क्रियाकलाप र प्रतियोगिताले खेलाडीलाई आकर्षित र हौसला प्रदान गरेको बताएका थिए। उनीहरुले प्रतियोगितामा सहभागिता जनाउनु नै विजयको पहिलो सुरुवात भएको बताउनुहुँदै सफलताको शुभकामना व्यक्त गरे।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनाेद महजर्ननले आजकाे कार्यक्रमको अध्यक्षता गरेका थिए । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

















