काठमाडौँ । सरकार र सत्ता गठबन्धनले गर्ने विभिन्न निर्णयमा आफूहरुसँग छलफल नै हुन छाडेको भन्दै साना दलले गुनासो गरेपछि प्रधानमन्त्री केपी शर्माओलीले सत्ता पक्षीय पाँच दलको बैठक बोलाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबिच नियमितजसो छलफल र संवाद हुँदै आएको छ । तर, त्यस्ता छलफल र संवादमा सत्ता पक्षीय साना दललाई बोलाउने गरिएको छैन ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका र सकारमा सहभागी भएका दलहरुबिच नियमित छलफल र संवाद गर्ने भनिएको थियो । तर पछिल्लो समय नेपाली कांग्रेस र एमालेबिच मात्र छलफल केन्द्रित हुन थालेपछि सत्ता पक्षीय साना दलले गुनासो गर्न थालेकाले उनीहरूको पनि कुरा सुन्न बैठक बोलाइएको हो’, सत्तारुढ दलका एक नेताले भने, ‘संसद्को हिउँदे अधिवेशन पनि नजिकिएकाले संसद् बैठकमा एउटै आवाज होस् भनेर छलफल गर्न लागिएको हो ।’