काठमाडौं- राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको पनि शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि तीनवटै बाइपासको ब्रेक थ्रु भइसकेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको यो सुरुङमार्ग निर्माणले एक वर्षयता तीव्रता पाएको थियो।
आयोजनाका अनुसार बाइपास सुरुङ ३ को गत भदौ २६ गते नै ब्रेक थ्रु भइसकेको थियो । त्यसपछि बाइपास सुरुङ १ को पनि गत असोज ४ गते ब्रेकथ्रु भएको थियो । मुख्य सुरुङसम्मको पहिलो बाइपास १ सय ५१ मिटर लामो छ भने तेस्रो १ सय ३० मिटर लामो छ ।