गाजामा ५ करोड टनभन्दा बढी भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्न सक्ने

9.5k Shares

गाजा । गाजामा रहेको भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्न सक्ने प्यालेस्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन ३ देखि ५ वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

प्यालेस्टिनी समाचार संस्था वाफासँगको कुराकानीमा मन्त्री बिसिसोले विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न तथा भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न ३ देखि ५ वर्ष लाग्न सक्ने अनुमान गरेको बताउनुभयो ।

प्रारम्भिक जानकारीअनुसार इजरायली आक्रमणका कारण झन्डै ४ लाख आवासीय इकाइहरू पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् । दाताहरूको समन्वयमा दुई लाख नयाँ इकाइहरूको निर्माण गर्नुपर्ने आवश्यकता देखिएको प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार २० लाखभन्दा बढी जनसंख्या रहेको गाजामा ५ करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ र यसका लागि झन्डै १ अर्ब २० करोड अमेरिकी डलर लाग्नेछ ।

सम्बन्धित समाचार