काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले धरान उपमहानगरका मेयर हर्क सम्पाङले खानेपानीबारे ‘ड्रामा’ गरेको बताएका हुन् । उनले त्यसरी ‘ड्रामा’ गर्नुभन्दा काममा ध्यान दिन सुझाए ।
धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको उनले बताए ।
मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएकाले सहज रूपमा उपलब्ध गराउन संघीय सरकारले काम अघि बढाउने उल्लेख गरे । त्यस्तै मन्त्री यादवले खानेपानीसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भइसकेको भन्दै अव खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनमा सहज हुने बताए ।