आर्थिक अपराधमा सङ्गठित गिरोह

10.1k Shares

काठमाडौँ । सहकारी सञ्चालक गितेन्द्रबाबु राई, टेलिभिजन प्रस्तोता रवि लामिछाने, पूर्वप्रहरी महानिरीक्षक छविलाल बन्जाडे जोशीसहितको समूहले विसं २०७८ असोज १५ गते ठुलो तामझामसहित एक टेलिभिजन सञ्चालनमा ल्यायो ।

गोर्खा मिडिया प्रालिले काठमाडौँको बालुवाटारबाट सञ्चालन गरेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनका अध्यक्षसमेत रहेका जिबी राई र प्रबन्ध निर्देशक रवि लामिछानेले काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, चितवन सहारा, पर्साको सानो पाइला सहकारीमा सर्वसाधारणले बचत गरेको झन्डै एक अर्ब रुपियाँ अवैध रूपमा प्रालिमा भित्र्याएर हिनामिना गरेको अभियोगमा सम्बन्धित जिल्लाका अदालतहरूमा मुद्दा दायर भइसकेको छ । 

यी सहकारीको रकम अवैध रूपमा गोर्खा मिडियामा ल्याउन र अवैध रूपमा हिनामिनामा झन्डै ९० जनाविरुद्ध सङ्गठित अपराधको अभियोगसमेत लागेको छ । जिबी राईको समूहले मात्र १० सहकारीको १६ अर्ब ५० करोड रुपियाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको छ । 

सहकारी ठगी आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित १० जना यति बेला पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका प्रमुख नेपालीसहितको टोलीले कास्कीको बाग्लुङ शाखा विस्तार गरी ११ हजार ५२९ जना गैरसेयर सदस्यहरूको एक अर्ब ५४ करोड रुपियाँ हिनामिना गरेको आरोप छ ।

भक्तपुरको शिवशिखर र विराटनगरको तुलसी सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि बचतकर्ताको १६ अर्ब हिनामिनाको आरोप छ । केही वर्षअघि काठमाडौँमा घरजग्गा तथा हाउजिङ निर्माणमा नाम कमाएका सुधिर बस्नेतमाथि ओरियन्टल सहकारीको १६ अर्ब र इच्छाराज तामाङमाथि सिभिल सहकारीबाट सात अर्ब ८२ करोड हिनामिनाको गरेको अभियोग अदालतमा विचाराधीन छ ।

त्यस्तै भरत महर्जनमाथि सुमेरु सहकारीको १० अर्ब ३४ करोड, सिबी लामामाथि कान्तिपुर तथा पशुपति सहकारीको आठ अर्ब ७९ करोड तथा केबी उप्रेतीमाथि आइडियल यमुना तथा हाम्रो सगरमाथाबाट आठ अर्ब रुपियाँ र शिव लामिछानेमाथि पनि बराह सहकारी धरानको आठ अर्ब हिनामिना गरेको आरोप छ । यसै गरी सुरेन्द्र भण्डारीमाथि लालीगुराँस सहकारीको छ अर्ब र रामबहादुर गौतममाथि काठमाडौँको कुलेश्वरमा रहेको गौतमश्री सहकारीबाट पाँच अर्ब रुपियाँ हिनामिना गरेको आरोप छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार