हेटौँडा । पूर्वी मकवानपुरमा ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपालअन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुर तथा जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको संयुक्त आयोजनामा बागमतीमा रहेका सामुदायिक विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । चिसो मौसम र शैक्षिक सामग्री अभावका कारण बालबालिकाको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो ।
मङ्गलबार बागमती गाउँपालिका वडा नं ३ का ३ विद्यालयमा अध्ययनरत ६६ जना सहयोगापेक्षी विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । बागमती गाउँपालिका वडा नं ३ गढनसिरस्थित श्री फुल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत सहयोगापेक्षी विद्यार्थीहरूलाई स्विटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको हो ।
यसैगरी, वडा नं ३ गढन स्थित श्री जनश्रम आधारभूत विद्यालयमा अध्ययनरत २३ जना सहयोगापेक्षी विद्यार्थीहरूलाई स्विटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको छ । यस्तै, श्री जनप्रभात आधारभूत विद्यालयका ३२ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।