मेची भन्सार कार्यालयबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो

9.4k Shares

झापा – झापाको मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । ६ महिनामा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो ।

गएको  आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा एक अर्ब ९० करोड पाँच लाख ६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो ।

चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ । कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार