रामहरी थापा
भोजपुरे खुकुरी र करुवा स्वदेशमा मात्र नभएर विदेशमा समेत प्रसिद्ध कमाएको धेरै पहिलादेखिकै ऐतिहासिक भोजपुर जिल्लाको परिचय हो । यसबाट यसका धातु, खनिज सम्पदाको अनुमान लगाउन सकिन्छ । यहाँ खनिजको कति सम्भावना थियो र छ भन्ने कुरा वि.सं. १८७२ सालमा नेपाल सरकारबाट पैसा वा सिक्का काट्ने टक्सार खुलाइएकोबाट पनि प्रस्ट हुन्छ । यस जिल्लाको पुरानो नाम सिद्धिपुर थियो । यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थल सिद्धिकालीको नामबाट नामाकरण भएको हुन सक्छ ।

यस क्षेत्रमा विभिन्न प्रकारको महत्व बोकेका नदि, नाला, झरना, पोखरी, पहाडहरु सबैको आ–आफ्नै किसिमको कथाहरु विभिन्न किम्बदन्तीमा पाइन्छ । विभिन्न वृक्ष उच्च पहाडी क्षेत्रमा भोजपत्रको रुखहरु प्रशस्त मात्रामा पाईन्छ र पहाडी क्षेत्रमा श्रीखण्डको दुर्लभ मनोरम जंगलसहितको बगैचा सबै किसिमका रत्न र धातु र अनेकन प्रकारका सुगन्धित पुष्पहरुले शोभायमान पर्वत देखेर परापूर्वकालमा जगदजननी देवीले मृगको रुप धारण गरी घना वनमा आनन्दले घुमफिर गरेको एकदमै क्रूर व्याधाहरुले मृगरुप देवीमाथि वाण प्रहार गर्न लाग्दा उफ्रेर भाग्दै उहाँँ हाल टक्सार नजिकै रहेको वनको गुफाभित्र प्रवेश गर्नुभयो ।

त्यसरी त्यो मृग प्रवेश गरेको देखेर शिकार गर्न झन् सजिलो भयो भनी वाण सोझ्याएर लखेट्दै आउँदा उफ्रदै त्यो मृग अहिलेको सिद्धकाली मन्दिर स्थापना गरिएको गुफाको द्वारमा पुगेर देवीले मृगरुप त्याग गरी आफ्नै स्वरुपमा प्रकट हुनुभयो । आफुले शिकारका लागी मार्न भनी लखेट्दै आएको मृगलाई देवीको रुपमा देखेपछि शिकारीहरु अचेत बनेर त्यही ढले । पछि केही छिनमा चेत खुल्यो तर तिनै व्याधाहरु काम्दै र बक्दै गाउँका घर घरमा पुगेर म साक्षत देवी हुँ, मलाई मृगरुपमा देखेर मार्न खोज्यौं, तिमीहरुबाट जोगिन धेरै प्रयत्न गरे तर शिकारको कामवासनाले गर्दा तिमीहरुले मेरो पिछा गर्न छोडेनांै । किन्तु जतिनै प्रयत्न गरेपनि तिमीहरुले न त मलाई मार्न सक्छौ न त मेरो मासु खाएर इन्द्रिय तृप्त नै गर्न सक्छौ । बरु मैले शक्तिको प्रहार गरे भने क्षणभरमा नै तिमीहरु समाप्त हुन्छौं भन्दै आफै एकदमै क्रूर व्याधाहरु काम्दै बक्दै र उफ्रिदै घर घर घुम्न थाले ।
ती व्याधाहरु शिकारीहरु एकोहोरो रुपमा कामिरहने, बकिरहने र सकैसँग नबोल्ने भएको देखेर सबै गाउँलेहरु जम्मा भई कहाँ, कसरी के भयो ? भनी सोधपुछ गर्दा काम्दै र बक्दै व्याधाहरु कन्याको स्वरमा भन्छन् – म देवी हुँ, यदि मलाई शान्त गराउने हो भने पूजाको व्यवस्था मिलाउ । गाउलेहरुले सोध – पूजाको व्यवस्था कहाँ गर्ने ? त्यसपछि तिनै काम्दै गरेका व्याधाहरुले लौ हिड भनी गाउँलेहरुलाई बाटो देखाउँदै जादा हाल अवस्थित मन्दिर रहेकै कुनामा पुग्दा बालिकाको रुपमा प्रत्यक्ष रुपमा सबैले देवीको दर्शन पाएपछि फेरी त्यहाँ सबै गाउलेहरु पनि काम्न र बक्न थाले । त्यसपछि सबै गाउँले मिलेर प्रबन्धसहितको पूजा गर्न थालेपछि काम्ने र बक्ने काम बन्द भयो ।
जब त्यहाँ नियमित पूजा हुन थाल्यो त्यसपछि हरेक भक्तजनहरुले सोचेको र चाहेको हरेक मनोरथ सिद्ध हुन थालेपछि सबैले सिद्धकाली देवी भन्दै जयजयकारले पुकार्न थाले । वि.सं. ११७६ देखि वि.सं. १६८७ सम्म उनै मृगरुपबाट प्रकट भएकी प्रत्यक्ष देवीकै स्वरुपमा पूजा र अर्चना हुने गरेको थियो तर एक दिन बेलुकाको सन्ध्याकालिन आरती गरी घर फर्केका त्यहाँका पुजारी भोलीपल्ट विहान पुनः नियमित पूजा गर्न पुग्दा साक्षात देवीलाई त्यहाँ देखेनन् । त्यहाँका पूजारीले देवी नदेख्दा चिन्ताले व्याकुल हुदै कसैले उठाएर लग्यो वा हामीसंग रिसाएर अन्त कतै अन्र्तध्यान हुनुभयो भन्दै कराउन र चिच्याउन थाले । पूजारीले गरेको त्यस्तो आश्चर्यचकित हल्ला सुनेर गाउलेहरु भेला भई त्यतिखेरका बुद्धिजिवीहरुले समेत सल्लाहमा देवी नभएका ठाउँमा पूजा अर्चना गर्न नहुने भन्दै एक हप्तासम्म पूजा बन्द भयो ।
तत्पश्चात गाउँले सबैलाई सपनामा भन्नुभयो – म हरेक भक्तजनहरुको मनोरथ सिद्ध गर्ने सिद्धकाली देवी हुँ, तिमीहरुले मेरो पूजा र आरती गर्न छोड्यौं त्यसैकारण म साह्रै दुःखित छु । कलियुग प्रारम्भ भए पश्चात म आफ्नै स्वरुपमा बस्न नसकी अदृश्य रुपमा अल्पिएर यसै स्थानमा बसेकी छु । मेरो शक्ति मैले टेकेको आशन (शिला) मा छ । त्यसैलाई मेरो स्वरुप मान्दै पूजा अर्चना गर्नु यदि त्यसो गरेनौ भने यहाँ रगतको खोलो बग्ने छ, धनजनको भयंकर ठूलो क्षति हुनेछ भन्दै सपनामा वाणी भएपछि पूजा अर्चनालाई पुनः निरन्तरता दिदै शिला स्थापना गरी उक्त शिलालाई नै शक्तिको प्रतिक मान्दै देवीको पूजा गर्ने प्रचलन आज पर्यन्त रहिआएको छ । जसलाई सिद्धकाली देवी भन्दै भक्तजनहरुले भक्ति, पूजा र अर्चना गर्ने गर्दछन् ।
हाल भोजपुरको सदरमुकाम भोजपुर नजिकै सिद्धकाली देवीको दर्शन गर्न पाउँदा भक्तजनहरु गौरवान्वित हुन्छन् तर त्यहाँ चुनौतीहरु पनि त्यतिकै छ । प्रमुख चुनौतीहरुमा मन्दिरमा चढाइने भेटी तथा दानपेटीका चोरी हुन सक्ने, स्थापित मूर्ति तथा पुरातात्विक वस्तुहरु चोरिएर हराउन सक्ने, दुव्र्यसनीहरु भेला भई मन्दिर परिसरमा लागुऔषध सेवन गर्न सक्ने र परधर्मको रसदपानले उन्माद बनेकाहरुबाट मन्दिर तोडफोड हुनसक्ने ।
अन्तमा – नमो देव्यै महादेव्यै मङ्गलायै नमो नमः । ॐः यम हृम क्रिम चामुण्डाय विच्छेद नमो नमः
“सिद्धकाली कलाधात्रयै सर्वपापहरे नमः”
सिद्ध पर्वतमा अवस्थित देवीकै नामले प्रख्यात नामाकरण गरिएको सिद्धिपुरलाई राष्ट्रिय एकिकरणका क्रममा नेपाल राष्ट्रमा गाभेपछि त्यसको खुशीयालीमा त्यहाँ भोज गर्दा उब्रिएको भोजको सामाग्रीहरु यत्रतत्र छरिएका ठाउँबाट उठाएर एकिकृत गरी खाल्टो खनेर त्यो भोजलाई पुरिएकाले त्यसै दिन देखि सिद्धिपुरलाई भोजपुर भन्न शुरु गरिएको कुरा सिद्धकालीका पूजारी सागर ढकाल बताएका छन् ।
माथिल्लो पहाडी भेगमा भोज पत्रको रुखहरु प्रशस्त पाइने भएको हुनाले यसको नाम भोजपुर रहन गएको वा पृथ्वी नारायण शाहले सिद्धिपुरलाई विजय गरेको खुशियालीमा भोज खाएर बढी भएकाे भाेजलाई त्यही खाल्डो खनेर पुरी दिएको कारण यस ठाउँलाई त्यस बेलादेखि भाेजपुर रहन गएकाे भएतापनि यस ठाउँलाई देव भूमि भएकाले सिद्विकालीकाे नामबाट नै यस जिल्लाकाे नामाकरण गरिनुपर्छ भन्ने जनताहरूको जनचाहना भएकाे बुझिन्छ ।