कम्युनिस्टहरु फेरि मिल्लान् ?

18k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक आफूहरुकै एजेन्डामा बढिरहेको बताउने गरेका छन् । माओवादीले लिएको विचार र बाटो सही हो भनी घटनाक्रमले पुष्टि गरेको उनको भनाई रहने गरेको छ । उनले विप्लव, किरणलगायतका नेताहरुसँग एकता गर्न खोजेका छन् । माधव नेपालसँग पनि एकता प्रयास बढेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादवसँग सहकार्यको विषय उठाएका छन् । आगामी चुनावमा यी शक्ति मिलेर बढ्ने संकेत प्रचण्डले गरेका छन् । 

यथास्थितिमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक हुनसक्ने असम्भव जस्तै लाग्छ । कुनैबेला यी तीन दल एउटै थिए, नेकपा । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुच्छर झुण्डिएको कम्युनिस्ट पार्टी नरहने अवस्थाको परिकल्पना गरेका थिए । उनैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव राखे । मिलेर चुनाव लडे । बहुमत हासिल गरे । 

एमाले र माओवादी एकीकरण भयो । २०७५ सालमा भएको यो एकतापछि नेकपा बन्यो जुन बलियो देखियो । तर, ओली र प्रचण्डबीचको विवादले नाटकीय घटनाहरु भए । सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतियो । ३ जेठ २०७५ मा एकीकरण भएका दुई दल पुरानै अवस्थामा फर्किए । 

एमाले पनि फुट्यो । नेकपा एस गठन भयो । यसरी नेकपा तीन टुक्रामा परिणत भयो । एमाले अध्यक्ष केपी शर्मा ओली र एसका अध्यक्ष माधवकुमार नेपालबीच आलोचना, कटाक्ष मात्र नभई गालीगलौज चलिरहेको छ । लाग्छ उनीहरु नदीका दुई किनार भएका छन् । पाँच दशक सँगै काम गरेका ओली र नेपालबीचको टकराव विभाजनमा परिणत भएको थियो । यस्तो देखिन्छ कि ओली र नेपाल भएसम्म एमाले र एस एक हुँदैन । तर, राजनीति न हो सम्भावनाको खेल रहन्छ । 

नेकपा एमाले र नेकपा एस भविष्यमा एक हुने सम्भावना छ । त्यो आमनिर्वाचन अघि हुने सम्भावना कमजोर छ । तर, आमनिर्वाचन पछि सम्भव होला । २०५४ सालमा नेकपा एमाले विभाजन भई नेकपा माले बनेको थियो । तर, २०५६ सालको चुनावमा माले सुन्यमा सिमित भयो । एमालेको पनि सिट संख्या ह्वात्तै घट्यो । यो घटनापछि दुवै पार्टी एक भएका थिए । त्यतिबेला एमाले महासचिव माधवकुमार नेपाल र माले महासचिव वामदेव गौतमबीच निकै चर्को आलोचनाहरु एक अर्कामाथि हुन्थ्यो । तर, कालान्तरमा दुवै एउटै दलमा आएका थिए । माओवादी केन्द्र र नेकपा एसबीच एकताको सम्भावना छ । प्रचण्ड र माधव नेपाल नजिक छन् । यी दुई दल एक भएपछि एमालेसँग भविष्यमा एकता हुनसक्ने सम्भावना पनि छ । कम्युनिस्ट दलहरुले चुनावमा खाने झड्काले त्यस्तो एकताको वाध्यकारी अवस्था निर्माण गर्न सक्छ । अन्तमा सबै मिलेर बढ्न सक्छन् । 


सम्बन्धित समाचार