वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ ।
त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख राजस्व संकलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व संकलन गरेको हो ।