कतिपय क्षेत्रमा आफ्नो चाहना, इच्छा भयो भने त्यो पछिसम्म नशा जस्तै भई त्यसलाई विर्षन नसकिने अवस्था आउँदो रहेछ भन्ने उदाहरणका रुपमा रहेका छन् तेक्वान्दोका स्वयम्सेवक प्रशिक्षक तथा राष्ट्रिय निर्णायक थानेश्वर दर्लामी मगर ।
२०५४ सालबाट निजगढ तेक्वान्दो डोजाङमा गुरु नन्दु लामा, अरुण लामा र शंकर लामाको प्रेरणाले तेक्वान्दो खेल्न सुरु गरेका दर्लामी झण्डै १० वर्ष रोजगारीको शिलशिलामा विदेश बसेर नेपाल फर्किएपछि फेरि तेक्वान्दो खेललाई निरन्तरता दिँदै अहिले प्रशिक्षक र निर्णायकका साथै नेपाल तेक्वान्दो संघ ललितपुर शाखाका सदस्यको रुपमा क्रियासिल रहँदै आएका छन् ।

निगगढ तेक्वान्दो डोजाङमा खेलाडीको रुपमा प्रशिक्षण लिने क्रममा राम्रो खेल खेल्न सक्ने भइसकेका दर्लामीले गुरुहरु रोजगारीको शिलशिलामा विदेशिएपछि आफैले सो डोजाङमा प्रशिक्षकको रुपमा कार्य गरी गुरुहरुको अभावमा अलपत्र परेका खेलाडीहरुको मनोबल बढाउने र नियमित प्रशिक्षण दिने काम गरेका थिए । सोही कारण आफूले ठूला—ठूला प्रतियोगिताहरुमा खेलाडीको रुपमा सहभागिता जनाउन नसकेको गुनासो पोख्छन् दर्लामी । खेलकुद क्षेत्रमा लागेर आर्थिक अभाव र परिवारको भविष्य सुनिश्चित हुने अवस्था नदेखेपछि दर्जामी पनि विदेशिन बाध्य भएका थिए ।
विदेशमा झण्डै दश वर्ष रोजगारीको शिलशिलामा रहेको अवस्थामा पनि समय निकालेर तेक्वान्दो खेल्ने गरेकाले दर्लामी दश वर्षपछि नेपाल फर्किएपछि पनि तेक्वान्दो खेललाई निरन्तरता दिँदै आइरहेका छन् ।
अहिले नेपाल तेक्वान्दो संघ ललितपुर जिल्लाको सदस्य रहेका दर्लामीले स्वयम् सेवक प्रशिक्षकको रुपमा ललितपुरको जावलाखेलस्थित न्यू जावलाखेल तेक्वान्दो डोजाङमा झण्डै तिन दर्जन खेलाडीहरुलाई २०७४ सालदेखि प्रशिक्षण दिँदै आइरहेका छन् । विभिन्न कारणले जावलाखेल डोजाङमा खेलाडीहरुलाई प्रशिक्षकले प्रशिक्षण दिन नभ्याई खेलाडीहरु अलपत्र परेको अवस्थामा दर्लामीले नयाँ डोजाङ खोली अलपत्र परेका खेलाडीहरुलाई नियमित प्रशिक्षण दिने वातावरण बनाएका छन् । दर्लामीले मेहनतका साथ प्रशिक्षण दिएका कारण सो डोजाङबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादनसमेत गर्न सफल बनिसकेका छन् । दर्लामीद्वारा प्रशिक्षण लिएका खेलाडीहरुले गत १३ औं साग गेममा स्वर्णपदक समेत ल्याउन सफल बनिसकेका छन् । दर्लामीले प्रशिक्षण दिएको खेलाडी निसा दर्नालले १३ औं साफ गेममा तेक्वान्दो विधामा स्वर्णपदक ल्याउन सफल बनेकी हुन् । अहिले पनि नियमित प्रशिक्षण लिने खेलाडीहरुले राम्रो खेल प्रस्तुत गर्ने क्रममा रहेको कारण तेक्वान्दो खेलको कुनै पनि प्रतियोगितामा सहभागिता जनाई राम्रो खेल प्रस्तुत गर्नेमा दर्लामी ढुक्क छन् ।
दर्लामीले २०७४ र ०७५ सालमा भ्यालि च्याम्पियनसिप प्रतियोगिता न्यू जावलाखेल डोजाङमा आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेका थिए भने २०७६ सालमा राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितासमेत सफलतापूर्वक सोही डोजाङमा आयोजना गरेका थिए । आफूलाई यो ठाउँमा आउने वातावरण गुरु दिपसिंह लामा र हिरा थापाको योगदान गरेको दर्लामी बताउँछन् ।
तेक्वान्दो खेलको विकासका लागि आफूले विदेशमा रहँदा पनि मेहनत गरेको र नेपालमा रहँदा पनि रातदिन नभनी मेहनत गरी नेपाललाई तेक्वान्दो खेलको देश भनेर विश्वसामु चिनाउने आफ्नो लक्ष्य रहेको दर्लामी बताउँछन् । दर्लामीले तेक्वान्दो खेल विकासका लागि निःशुल्क रुपमा महालक्ष्मी नगरपालिकाको लुभुस्थित श्री महालक्ष्मी माविका विद्यार्थीहरुलाई हप्ताको तिन दिन प्रशिक्षण दिने गरेको समेत जानकारी गराएका छन् ।
आफ्नो तेक्वान्दो खेल खेल्ने र नेपाललाई विश्वसामु चिनाउने उद्देश्य बोकेर तेक्वान्दो खेल खेल्न सुरु गरेका दर्लामीले आर्थिक अभाव, परिवारका भविष्य सुनिश्चित र बालबच्चालाई उच्च शिक्षा दिनसमेत नसक्ने अवस्था आएपछि वाध्य भएर विदेशिएको र विदेशबाट केही आम्दानी गरी नेपाल फर्किई तेक्वान्दो खेललाई निरन्तरता दिनुका साथै व्यापार व्यवसाय पनि गर्दै आइरहेका छन् । दर्लामीले अहिले खाद्यान्नको व्यवसाय गर्दै आइरहेका छन् । खेलकुदमा लागेर आफूलाई कहिँ कतैबाट सहयोग नमिले पनि आफू सदा खेलकुद क्षेत्रलाई नै महत्व दिई लागि परिरहने दर्लामी बताउँछन् । हाल राष्ट्रिय निर्णायकको भूमिका समेत निवाह गरिसकेका दर्लामीले राष्ट्रिय स्तरका धेरै प्रतियोगिताहरुमा पनि सफलतापूर्वक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।