कालीगण्डकी कोरिडोरको बाग्लुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न

9.2k Shares

बाग्लुङ – भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बाग्लुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६७/६८ देखि शुरू भएको आयोजनाअन्तर्गत बाग्लुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र बाग्लुङको जैमिनी नगरपालिका–८ को सिमाना पालुङखोलादेखि मालढुङ्गासम्म ३४ किलोमिटर सडक बाग्लुङमा पर्छ ।

यो खण्डमा दुई वटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ भने २६ किलोमिटर सडक फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको उहाँको भनाइ छ ।

पालुङखोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर खड्का/कृष्ण/बीएन जेबीले जिम्मा लिएर काम गरिरहेको इन्जिनियर खत्रीले बताउनुभयो ।

बाग्लुङको दुई वटै खण्डमा धमाधम काम भइरहेको छ । शुरूदेखि नै बजेट कमी हुँदा तीव्र गतिमा काम हुन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार साढे आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ अन्य बाँकी सडक पनि कालोपत्रका लागि तयारी अवस्थामा छ, गर्मीयाम शुरू भएपछि फेरि काम हुने छ ।

सम्बन्धित समाचार