काठमाडौं । साफ
च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय
फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाल र ओमानबीचको खेल
कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार
बेलुका ७ बजे (नेपाली समय अनुसार राति ९:४५ बजे) सुरु हुनेछ । कतारमा दुई हप्ताको अभ्यासमा रहेको नेपाली टिमले ओमनसँग
अभ्यास खेल खेल्न लागेको हो ।
माल्दिभ्समा हुने साफ
च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग खेल्न लागेको हो । नेपाली टोली
कतारबाटै सोमबार माल्दिभ्स जानेछ ।
साफ च्याम्पियनसिपको १३औं संस्करण आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म माल्दिभ्समा आयोजना हुनेछ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । माल्दिभ्स आयोजकका साथै साबिक विजेता पनि हो । तसर्थ नेपाललाई पहिलो खेलमै निकै कठिन प्रतिद्वन्द्वी परेको छ ।
यता नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिमले निकै राम्रो तयारी गरिरहेको जानकारी दिएका छन् । उनले बलियो टिम निर्माणका लागि धेरै म्याच एस्पोजर चाहिने भन्दै अन्तिम समयमा नेपाली टिमलाई ओमनसँग मैत्रीपूर्ण खेल आयोजना गरेका हुन् । यसअघि नेपाली टिमले कतारकै स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
त्यसअघि नेपालले नेपाली
भूमिमा इन्डियासँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा एक खेलमा नेपालले हार
बेहोरेको थियो भने अर्को खेलमा नेपाल विजयी भएको थियो ।
यस पटक साफमा ५ टिम मात्र सहभागि छन् । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच अक्टोबर १६ (असोज ३०) मा फाइनल खेल हुनेछ ।