काठमाडौं । काठमाडौंको ठमेलस्थित नर्सिङ चोकबाट चिनियाँ नागरिक अपहरण गरी भारत लैजाने भारतीयको प्रयास असफल भएको छ । यस प्रकरणमा चार जना भारतीय नागरिक र एक जना चिनियाँ पक्राउ परेका छन् । एक जना भारतीय नागरिक भने फरार छन् ।
ठमेलस्थित होटल काठमाडौं स्क्वायरबाट मंगलबार दिउँसो ३ बजे एक जना चिनियाँ नागरिक अपहरणमा परेको सूचना आएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालन भएकामा मंगलबार राति र बुधबार बिहान गरी उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको सत्रक महाराष्ट्रका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरट र ४० वर्षीय अफसर युनुस शेख तथा अहमद नगर पुनेका ३० वर्षीय अनमोल खरमाटे र ३२ वर्षीय अम्बादस जग्गनाथ सिरसत रहेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार पक्राउ परेका चारैजना भारतीय पनि महाराष्ट्र प्रहरीबाट वारेन्ट जारी भएका आरोपी हुन् । उनीहरूकै आफन्तले उजुरी हालेकामा अहिले पनि मुद्दा चलिरहेको छ । पक्राउ परेका भारतीय नागरिकलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
यस्तै, उद्धार गरिएका चिनियाँ नागरिकमा वु हुवान रहेका छन् । प्रहरीलाई सुरुमा चिनियाँ नागरिक वान जिमिन अपहरणमा परेको सूचना प्राप्त भएको थियो । प्रहरीको कन्ट्रोल रुमले सो नामको चिनियाँ नागरिक अपहरणमा परेको जानकारी गराएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली क्षणभरमै परिचालन भएको थियो । सुरुमा प्रहरी टोली मंगलबार अपराह्न ३ बजे अपहरण गरिएको भनिएको होटल काठमाडौं स्क्वायर पुगेको थियो । त्यहीँबाट अनुसन्धान थालेको प्रहरी टोली त्यतिबेला आश्चर्यमा प¥यो, जतिबेला अपहरणमा परेका भनिएका चिनियाँ नागरिक वान जिमिन सोही होटलकै कोठामा भेटिए ।
काठमाडौंबाटै चिनियाँ नागरिक अपहरण भएको सूचना आएपछि अपराध महाशाखाबाट डीएसपी अनिल घिमिरेको टोली परिचालन भएको थियो । सो टोलीले होटल आसपासका सीसीटिभी फुटेजको अनुसन्धान गर्दा पाँच जना भारतीय नागरिकले एक चिनियाँलाई जबर्जस्ती गाडीमा हालेर लैजाँदै गरेको देखिएको थियो । त्यसपछि सुरु भएको थियो, अपहरणमा परेका चिनियाँ नागरिकको उद्धार र अपहरणमा संलग्न भारतीय नागरिकको खोजी । तर, सीसीटिभी फुटेजमा गाडी नम्बर नखुलेपछि प्रहरीलाई केही समस्या भयो । लगत्तै प्रहरी टोलीले अन्यत्रका सीसीटिभी फुटेज अध्ययन गर्न थाल्यो । त्यसपछि भने अपहरणमा भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग भएको देखियो । अपहरणमा प्रयोग भएको भारतीय नम्बर प्लेटको सवारीसाधन थियो एमएच१६डीजी ४९०४ नम्बरको कियाको सेरेन्सका कार । लगत्तै प्रहरीले सो गाडीको व्यापक खोजी ग¥यो तर काठमाडौंमा सो कार कतै देखिएन ।
यहीबीचमा अपराध महाशाखाको टोलीले सो कार मंगलबार अपराह्न १ बजेर ४६ मिनेट जाँदा फर्पिङबाट बाहिरिइसकेको पत्ता लगायो । सो कार यति छिटो हुइँक्याइएको थियो कि अपहरण भएको २१ मिनेटमै कार फर्पिङ पुगिसकेको थियो । अपराह्न १ बजेर ४६ मिनेटमा सो कार फर्पिङबाट दक्षिणकाली हुँदै सिस्नेरीतर्फ अगाडि बढेको पनि देखियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र नजिकका सबै प्रहरी बिट र कार्यालयलाई सो कार रोक्न र कारमा भएका सबैलाई नियन्त्रणमा लिन निर्देशन दिइयो भने काठमाडौंबाट अपराध महाशाखाको टोली सोही बाटो पछ्याउँदै त्यसतर्फ लाग्यो ।
मंगलबार अपराह्न करिब ३ बजेर ५० मिनेटमा मकवानपुरको सिस्नेरीस्थित प्रहरीले ब्लकेट राखेर सो कारलाई नियन्त्रणमा लिन खोज्यो । तर, सो कार ब्लकेट छल्दै अघि बढ्यो । सिस्नेरी प्रहरीको प्रयास सफल नभएपछि त्यसभन्दा अगाडिको भीमफेदीस्थित प्रहरी टोली अझै ठूलो ब्लकेट राखेर बस्यो । यतिखेर साँझ ५ बज्न लागिसकेको थियो । सिस्नेरीबाट भागेको करिब १ घण्टा १० मिनेटमा सो कार भीमफेदी पुगेको थियो । तर, बाटोमा ठूलो संख्यामा प्रहरीको तैनाथी र ब्लकेट देखेपछि अपहरणकारी टोली अगाडि बढ्न नसकिने निष्कर्षमा पुग्यो । त्यसपछि उनीहरू बाटैमा गाडी रोकेर चिनियाँ नागरिकलाई साथै लिएर जंगलतर्फ भागे । त्यसपछि भीमफेदी प्रहरी टोलीले तत्कालै कारका चालकलाई नियन्त्रणमा लियो । अनि अपहरित र अपहरणकारीको खोजी थाल्यो ।
मंगलबार साँझ करिब साढे ५ बजेदेखि प्रहरीले भीमफेदीको जंगलमा सर्च अभियान सञ्चालन ग¥यो । यस बेलासम्म अपराध महाशाखाबाट गएको प्रहरीको टोली पनि त्यहाँ पुगिसकेको थियो । त्यसपछि संयुक्त रूपमा भीमफेदीको जंगलमा सर्च अपरेसन चलाइयो ।
सोहीक्रममा राति करिब ८ बजे भीमफेदी जंगलबाट एक जना भारतीय नागरिक पक्राउ परे । खोजीकै क्रममा राति करिब १० बजे थप दुई भारतीय नागरिक पनि पक्राउ परे । अब पक्राउ पर्न बाँकी थिए अपहरणमा संलग्न एक जना भारतीय नागरिक र अपहरणमा परेका चिनियाँ नागरिक ।
एकातिर प्रहरीसँग उनीहरूको खोजीका लागि आवश्यक साधनको अभाव थियो भने थकान पनि बढ्दै थियो । तर, प्रहरी टोलीले हिम्मत हारेन । प्रहरी टोली मोबाइलको फल्यास लाइट बालेरै खोजीमा जुट्यो । सोहीक्रममा प्रहरी टोलीले राति ११ बजे एउटा भिरनजिकै चिनियाँ नागरिक र एक भारतीय नागरिक देख्यो । तर, प्रहरीलाई देख्नेबित्तिकै दुवै जना भिरबाट फाल हाने । भिरबाट फाल हानेका भारतीय नागरिक भिरमै अड्किए । उनलाई प्रहरी टोलीले नियन्त्रणमा लियो । तर, जति खोज्दा पनि चिनियाँ नागरिक भने फेला पर्न सकेनन् ।
यहीबीचमा खोजीमा जुटेको प्रहरी टोलीले नयाँ क्लु फेला पा¥यो । प्रहरीलाई आएको क्लु थियो, चाइनिजजस्तो देखिने मान्छे ट्रक चढेर काठमाडौंतर्फ गएको भन्ने सूचना । त्यतिबेला रातको १२ बजिसकेको थियो । त्यसपछि महाशाखाको टोलीले काठमाडौं प्रहरीसँग समन्वय गरेर विभिन्न नाकामा चेकजाँच अघि बढायो । राति साढे १२ बजे काठमाडौं प्रहरीले फर्पिङबाट चिनियाँ नागरिकलाई उद्धार ग¥यो । आजको राजधानी दैनिकबाट