कास्की – बाग्लुङमा शहीदका नाममा बनेको सडक वर्षाैं बित्दासमेत स्तरोन्नति हुन नसक्दा नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने शहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।
पालिकालाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप यो सडक चार वर्षअघि नै कालोपत्रका लागि छनोटमा परेको थियो ।
स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गरेको निर्णय कार्यान्वयनमा भने आउन नसकेको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ ले बताउनुभयो । सरकारको प्राथमिकतामा नपरेका कारण कालोपत्र योजना अलपत्र परेको उहाँको भनाइ छ ।
२० किलोमिटर दूरीको सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर छिट्टै सडक कालोपत्र गरिने खबरले उत्साहित स्थानीयवासी योजना नै अलपत्र पर्दा निराश भएका छन् ।
जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर सडक मार्ग खोलेका थिए । पछि गाउँपालिकाले त्यसलाई ‘शहीद मार्ग’ को नाम दिएको थियो । मार्ग खुलेको वर्षाैं बित्सासमेत सडक विस्तार र कालोपत्र हुन नसकेको हो ।
सडक स्तरोन्नति भएमा यात्रुको आउजाउ सहज हुनुका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्नुका साथै लोकमार्ग हुँदै गण्डकी प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुनेछ ।