लमजुङमा सुन्तला उत्पादनमा वृद्धि हुन सकेन

10.9k Shares

लमजुङ – लमजुङमा सुन्तला उत्पादनमा वृद्धि हुन नसकेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र कीरा लाग्ने लगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताउनुभयो । केही वर्षदेखि वर्षेनि सुन्तला उत्पादन घट्दै गए पनि गएको वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षमा चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

गाउँशहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर धिमिरेलगायत ठाउँमा वर्षेनि सुन्तला उत्पादनमा कमी हुँदै आएको थापाले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार गएको आर्थिक वर्षमा एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिक टन उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा एक सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट पाँच सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

सम्बन्धित समाचार