काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग आफ्नो दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको नेपालले आज (आइतबार) दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ५ः३० मा सुरु हुनेछ । काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । पहिलो खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा सहज जित निकाल्न चाहन्छ ।
नेपाल र भारतबीच सन् १९८५ मा दोस्रो खेल भएको थियो । जसमा नेपाल २–० गोलले पराजित भएको थियो । त्यसपछि सन् १९८७ र १९८९ मा भएको सफल गेम्सअन्तर्गतको खेलमा नेपाले हार व्यहोर्नु परेको थियो । त्यसपछि नेपालले सन् १९९३ मा साफ च्याम्पियनसिपमा खेलेको खेलमा पनि १–० गोलको नतिजा व्यहोर्नु पर्यो । नेपालले सन् १९९२ मा नै भएको साफ खेलमा २–२ गोलको नतिजा निकाल्यो ।
सोही समयमा भएको साफ खेलमा नेपालले भारतलाई पेनाल्टी सुट आउटमार्फत ४–२ ले हरायो । सन् १९९८ को एसियन गेम्समा पनि नेपाल भारतसँग १–० ले पराजित भयो । १९९९ मा भएको साफ गेम्समा भारतले नेपाललाई ४–० ले हरायो । त्यसपछि सन् २००५, २००८, २००९ मा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतसँग हार व्यहोर्नु परेको थियो ।
यता, सन् २०१२ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने नेपालले भारतलाई बराबरीमा रोकेको थियो । सन् १९९३ मा भारतलाई हराएको नेपालले सन् २०१३ मा दोस्रोपटक हराउन सफल भयो । साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतलाई २–१ ले हरायो । नेपालका लागि अनिल गुरुङले ७०औँ मिनेटमा गोल गरे भने जुमानु राईले ८१औँ मिनेटमा गोल गरेका थिए । खेलको इन्ज्युरी समयमा भारतका लागि सायद रहिम नावीले गोल गरे पनि भारत नेपालसँग पराजित भएको थियो ।
त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिपमा जित निकालेकै वर्ष नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्यो, जुन खेलमा नेपाल २–० ले पराजित भयो । नेपालले भारतसँग सन् २०१५ मा विश्वकप छनोटअन्तर्गत दुई खेल खेलेको थियो । जसमा नेपालले एक खेल बराबरी खेलेको थियो भने एक खेलमा हारको नतिजा अत्मसात गरेको थियो ।
अन्तिमपटक नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सन् २०१७ मा खेलको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो । त्यसपछि शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले १–१ गोलको बराबरी खेल्यो ।