ऋणमा निर्माणाधीन सडक, काम सुस्त

10k Shares

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त देखिएको छ । 

ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधारहरूको दयनीय अवस्थाले आमनागरिकले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यसै गरी सडकहरू निर्धारित समयमा निर्माण हुन नसक्दा मुलुकले लिएको पर्यटक भित्र्याउने लक्ष्य अपुरो हुनुका साथै अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ ।

एडिबीको ऋण लगानीमा अहिले मुलुकको चार वटा सडक आयोजनाको विस्तार तथा स्तरोन्नति भइरहेका छन् । दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत पूर्वपश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही खण्ड, कञ्चनपुर–कमला खण्ड र नारायणगढ–बुटवल खण्डको विस्तार तथा स्तरोन्नति भइरहेका छन् ।

त्यसै गरी एडिबीकै ऋण लगानीमा मुग्लिङ–आँबुखैरेनी–पोखरा सडकको विस्तार तथा स्तरोन्नति भइरहेको छ । एडिबीको ८३ अर्ब ७२ करोड रुपियाँ ऋण सहयोगमा ती आयोजनाको काम भइरहेको छ । आयोजना निर्धारित समयमा सम्पन्न नहुँदा निर्माण लागत बढ्दै जाने देखिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल खण्डको विस्तार कार्य सम्पन्न हुन नसक्दा गौतम बुद्ध जन्मस्थान जाने पर्यटकको सङ्ख्यामा कमी आएको छ । त्यसै गरी मुग्लिङ–आँबुखैरेनी–पोखरा सडक विस्तार कार्य समयमा सम्पन्न हुन नसक्दा स्थल मार्ग भएर पोखरा, मनाङ, मुस्ताङलगायत सो क्षेत्रमा जाने पर्यटकको सङ्ख्यामा समेत उल्लेखनीय कमी आएको हो । 

नारायणगढ–बुटवल खण्ड

नेपालस्थित एडिबी निर्देशनालयका प्रमुख चूडाराज ढकालका अनुसार यस राजमार्ग खण्डको अहिलेसम्मको भौतिक प्रगति ५२.५ प्रतिशत छ । सम्झौता अनुसारको निर्माण अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि करिब आधा भौतिक प्रगति भएको हो । यस राजमार्ग खण्डको विस्तार तथा स्तरोन्नतिका लागि ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ माघमा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । 

कुल लम्बाइ ११३ किलोमिटर रहेको यो राजमार्ग खण्ड पूर्वी र पश्चिमी गरी दुई भागमा स्तरोन्नति भइरहेको छ । नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबिच सम्झौता भएको थियो । कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँको लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । म्याद थप भएसँगै लागत रकम बढेर १७ अर्ब २७ करोड रुपियाँ पुगेको निर्देशनालयले जनाएको छ । नारायणगढ–बुटवल खण्डमा मङ्सिरसम्म मोबिलाइजेसन रकमबाहेक ४३ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको तीन पटक म्याद थप भइसकेको छ । तेस्रो पटक थप गरिएको म्यादको अवधि २०८२ साउन ८ गतेसम्म रहेको छ ।

काँकडभिट्टा–लौकही (इटहरी)

पूर्व पश्चिम राजमार्गको काकरभिट्टा–लौकही (इटहरी) करिब ९६ किमीको अक्टोबर २०२४ मा ठेक्का व्यवस्थापन भई २०८० फागुनदेखि काम भइरहेको छ । सो खण्डको रुख कटानको काम सम्पन्न भई, विद्युत्, खानेपानीलगायत संरचना हटाउनेलगायत माटो पुर्ने र पुलहरूको पाइल फाउन्डेसन र केही कल्भर्ट निर्माणको काम भइरहेको नेपाल स्थित एडिबी निर्देशनालय प्रमुख ढकालले जानकारी दिनुभयो । 

यस आयोजना अन्तर्गत निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्रा र लोहन्द्रा नदीमा रहेका पुलको निर्माण तथा स्तरोन्नति गर्नुपर्ने छ । २०८० कात्तिक २ गते निर्माण सम्झौता भएको यस आयोजनाको अवधि २०८९/९० सम्म रहेको छ । अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति ४.५ प्रतिशत र वित्तीय प्रगति ६.५ प्रतिशत छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार