पछिल्लो समय धर्ममाथिको राजनीतिले पुनः चर्चा पाएको छ । नजिकिँदै गरेको नेपाली कांग्रेसको महाधिवेशनको मुखैमा काँग्रेसी राजनीति यसबाट बढी प्रभावित भएको देखिएको छ । महामन्त्री शशांक कोइराला पहिलेदेखि नै धर्म सापेक्ष राष्ट्रको पक्षमा थिए । ५० प्रतिशत महासमिति सदस्य दुई वर्षअघि नै हस्ताक्षरसहित हिन्दुराष्ट्रको पक्षमा खुलेका थिए ।
महाधिवेशन नजिकिएसँगै विपक्षमा उभिँदै आएका नेताहरूमा समेत धार्मिक सेन्टिमेन्ट देखिन थालेको छ । यसको अर्थ हो कांग्रसको आसन्न महाधिवेशन मङ्सिर ९–१३ मा हिन्दु अभिमतलाई आकर्षित गर्नु । यसले के–कति प्रभाव पार्ला वा पार्न सक्ला, त्यो त भविष्यले नै बताउला । तर, कथम्कदाचित प्रभावित पार्न सक्यो भने अन्ततः हानि भने काँग्रेसलाई नै बढी हुनेछ ।
गणतन्त्र र धर्मनिरपेक्षता माओवादीको मुद्दा हो, माओवादी जनयुद्धको जगबाटै उठेको हो । तर काँग्रेस पनि कम जिम्मेवार भने छैन । काँग्रेस आफ्नो एजेन्डा छाडेर माओवादी लाइनमा उभिन आएकैले यसले चाँडै नै मूर्तरूप पाएको हो । तर त्यसबापतको मूल्य भने उसैलाई भारी परेको जगजाहेर छ । यसैले नै पहिलो हुँदै आएको पार्टीलाई दोस्रो, तेस्रोमा खुुम्चिन बाध्य पारेकोमा काँग्रेसीहरू नै बढी जानकार हुनुपर्छ । हाल काँग्रेसी नेताहरूमा देखिएको धार्मिक सेन्टिमेन्ट सोही गुमेको साख उकास्नु नै हुन सक्छ तर नदीनालामा धेरै पानी बगिसकेको छ ।
धर्ममाथि राजनीति घुस्नुहुन्न, घुसाउनुहुन्न । जसले त्यस्तो धृष्टता गर्छ ऊ दण्डित हुन्छ, हुनुपर्छ । धर्मलाई सत्तारोहणको भ¥याङ बनाउँदा राप्रपा (
कमल थापा) को अवस्था कहाँबाट कहाँ पुग्यो । एकैचोटि २४ सिटमा उक्लेको पाटी किन शून्य बराबरमा झर्नुप¥यो सबैलाई थाहा भएकै कुरा हो । एमालेमा चिरा पर्नुको कारण पनि यही हो । केपी शर्मा ओलीको धार्मिक नाटकको मूल्य आफैंलाई यति बढी महँगो पर्ला भन्ने सायद उनैलाई थाहा थिएन । हाल आएर काँग्रेसी नेताहरू त्यही कार्ड खेल्दैछन् भने निश्चित छ अब फुट्ने पालो काँग्रेसको हो ।
वैदिक सनातन धर्म भनेको त्यस्तो महासागर हो, उसलाई सुरक्षित हुन कसैको वैशाखी चाहिन्न । कसरी सुरक्षित हुने भन्ने ऊ आफैँलाई थाहा छ, आफैँले नै सुरक्षित गर्न सक्छ, गर्दै आएको छ । भारतमा कति समय मुगलले शासन ग¥यो, कति समय अंग्रेजले शासन ग¥यो त्यो पनि थाहा छ, उनीहरूपूर्व को—को आए र उनीहरूले वैदिक सनातन धर्मको मर्ममा प्रहार गर्न के– कति गरे त्यो पनि थाहा छ ।
नेपालको कुरा गर्ने हो भने पनि के कस्ता हर्कत हुँदै आएका छन् त्यो पनि थाहा भएकै कुरा हो । तैपनि खोइ त अहिले पनि झण्डै ९० प्रतिशत यसकै अनुयायी छन् । त्यसैले निरपेक्ष र सापेक्ष समस्या होइन । हो, हाल जुन रूपमा धर्मान्तरण भइरहेका छन् त्यो भने समस्या हो तर यसको पनि मूल कारण हिन्दुहरू आफैँ हौँ भन्ने कुरा भुल्नुहुँदैन । त्यसैले धर्मनिरपेक्षको आडमा धर्मान्तरणको पेसा मौलायो भनेर चिच्याउँदै हिँड्नुभन्दा आफूहरू कति हिन्दु हुन सकेका छौँ भन्ने कुराको हेक्का राख्नु जरुरी हुन्छ ।
वैदिक सनातन धर्म भनेको संसारकै प्राचीनतम संस्कृति मात्र होइन वैज्ञानिक संस्कृति पनि हो । यसभित्र धर्म छ, संस्कृति छ, विज्ञान छ, प्रविधि छ, सबैभन्दा बढी मानवता छ, समानता छ । वसुधैव कुटुम्बकमको आलोकमा हुर्केको संस्कृति असमान र असहिष्णु हुनै सक्दैन । यसले मानिसलाई मात्र होइन पशुपन्छीलाई समेत मानवताको पाठ पढाएको छ, सिकाएको छ । आफू पनि बाँच र अरुलाई पनि बाँच्न देऊ भन्ने संस्कृति संसारमा कुनै छ भने हिन्दुसंस्कृति नै छ ।
आफूलाई अरूको जस्तो बोली र व्यवहार मन पर्दैन त्यस्तो बोली र व्यवहार अरुलाई पनि गर्नुहुन्न भन्ने यस संस्कृतिले आब्रह्म स्तम्भपर्यन्त सबै एउटै हुन् भनेको छ । के हामी हिन्दुहरूले यसलाई पालन गरेका छौँ ? नारा भट्याएका मात्र छौँ कि व्यवहारमा देखाउने हिम्मत पनि गरेका छौँ ? नारामा समान छौँ फलाक्ने व्यवहारमा उच र निच भनेर छुट्याउने हामी नै होइनौँ ? कथित तल्लो जातकहाँ कर्मकाण्ड गर्न रुचाउने कति जना हुनुहुन्छ, भन्नुपर्दैन मनन गरे पुग्छ । यस्तै अवस्था रहेसम्म सय ठाउँमा हिन्दुराष्ट्र लेखे पनि धर्म परिवर्तन रोकिँदैन ।
अस्ति एकजना सञ्चारकर्मी मित्र भन्दै थिए– ‘हामी हिन्दुधर्मको कुरा गछौँ, हिन्दुराष्ट्रको माग गछौँ तर कसैले पहिले यो त बताउनुस् कि हिन्दु मर्यादा बुझ्ने तपाईंहरू कति हुनुहुन्छ भनेर सोध्यो भने लाजमर्दो अवस्था छ ।’ वरिष्ट सञ्चारकर्मी हुन्, देश विदेश घुमेका छन्, बुझेका छन् । उनको भनाइमा दम छ । हिन्दुवादीहरुले भन्न सक्नुपर्छ हिन्दु भनेको के हो र हिन्दु मर्यादा भनेको के हो । कथा वाचन तथा न्वारन पास्नी मात्र हो कि त्यो भन्दा बढी पनि केही छ । संविधानको ठेलीमा लेखिँदैमा हुने भए २०१९ सालको संविधानमा पञ्चायतलाई निर्विकल्प पनि लेखिएकै हो । किन तीस वर्ष पनि टिकेन । २०४७ सालको संविधानलाई संसारकै उत्कृष्ट संविधान पनि भनिएकै हो किन १० वर्षमै च्यातियो ।
सुधारको कुरा चाहिँ सुन्नै नचाहने, जे चलेको छ त्यसैलाई चल्न दिनुपर्छ, पुर्खाले जता फर्केर खोकेका थिए त्यतै फर्केर खोक्नुपर्छ, जता फर्केर हाँच्छ्यु गरेको थिए त्यतै फर्के गर्नुपर्छ, त्यसमा एउटा अल्पविराम, अर्धविराम, पूर्णविरामसम्म चलाउनुहुन्न, चलाउन पाइन्न भन्ने अनि धर्मान्तरण मौलायो भन्दै चिन्ता गरेर हुन्छ ?
राजनीति गर्नेले राजनीति नै गरुन् । धर्मको च्याँखे थापेर राजनीतिक स्वार्थको सपना नदेखौँ । धर्मगुरुहरूले धर्म संरक्षणमै ध्यान दिऔँ ओमकारको झण्डा उठाएर राजनीति गर्ने सपना नदेखौँ, यसैमा सबैको भलाइ छ । होइन भने थप अस्थिरता जन्मन्छ । धर्मान्तरणको समस्या बल्झिने भनेको यस्तै अस्थिरतामै हो । सबैमा चेतना भया ।