रामहरि थापा
देश सार्वभौम सत्ता सम्पन्न बनाउने कोही थियो भने कर्णेल उजिरसिंह थापालाई लिन सकिन्छ । कर्णेल उजिरसिंहका जिजु हजुरबुवा विरभद्र थापा पृथ्वी नारायण शाहका सुयोग्य भारदार हुन् ।
बाजे बडाकाजी अमरसिंह थापा बाकुमगढी युद्ध (पाल्पामा आक्रमण गर्दा) का नायक र पाल्पाका पहिलो प्रशासक (जनरल) हुन् । बुवा काजि नयनसिंह थापाले नेपाल एकिकरणको अभियानमा पंजावका राजा रणजित सिंहका फौजसँग कागडाको युद्धमा वीरगति प्राप्त गरेका थिए । उनी काजी नयनसिंहका जेठा सुपुत्र कर्णेल उजिरसिंह थापा, कान्छा छोरा नेपालका प्रधानमन्त्री माथवरसिंह थापा, जेठी छोरी जंग बहादुर राणाको आामा गणेश कुमारी र कान्छी छोरी रण बहादुर शाहकी महारानी ललितत्रिपुरा सुन्दरी हुन् । कर्णेल उजिर सिंहका बाबु, बाजे, जिजुबाजे र सकल परिवार नै नेपाल एकिकरण अभियानमा समर्पित भए । उनीहरुको पनि राष्ट्र निर्माणमा कम योगदान छैन । देशको अस्तित्व र रक्षाका निमित्त जीउज्यानको बाजी लगाएर बल बुद्धि दुवै उपयोग गरी वैरीसँग लड्ने नेपाल आमाको वीर सपुतहरु मध्येका वीरोत्तम योद्धा कर्णेल उजिरसिंह थापा हुन् । पिता काजी नयनसिंह थापाको सुमार्ग, माता मुखिनी रणकुमारीको प्रेरणा, बाजे बडाकाजी अमरसिंह थापा र काका प्रधानमन्त्री भिमसेन थापाको मार्गदर्शनले गर्दा कर्णेल उजिरसिंह र माथवरसिंह दुवै भाई कुशल प्रशासक, वीर योद्धा र सच्चा देशभक्त महापुरुष बन्ने उत्प्रेरणा प्राप्त गरेका थिए । कर्णेल उजिरसिंह थापाको जन्म काठमाडौंमा वि.सं. १८५२ साल चैत्र महिना कृष्ण प्रतिपदा विहिबार भएको थियो । मिति १८७१ मंसिर ८ गते १९ वर्षको युवा उजिरसिंह थापा जोसिला निडर, चलाख, सुरवीर र बहादुर थिए । १९ वर्षको उमेरमै पाल्पाको कमाण्डर सम्हाल्न यो स्थानमा आइपुगेका कर्णेल उजिरसिंह थापाले वि.सं. १८७१ देखि १८८१ सम्म(जीवनपर्यन्त) पाल्पा कमाण्डर भएका थिए ।
कर्णेलउजिरसिंह थापाको मृत्यु वि.सं. १८८१ साल मार्ग २० गते औलो ज्वरोको रोगबाट काठमाडौंं आर्यघाटमा २९ वर्षको उमेरमा मृत्यु भयो । कर्णेल उजिरसिंह थापाको मृत्यु पछि उनको शवसंगै श्रीमती रण कुमारी मुखियानी उनीसँगै सति गइन । मृत्युको ११ औं दिनको काम सकिए पछि कर्णेल उजिरसिंह थापाको जेठी मुखियानीबाट जगदिव्यश्वरीको जन्मभयो । कर्णेल उजिरसिंहका छोरा सेरजंगबहादुर थापालाई जनरल भिमसेन थापाले वि.सं. १८८१ फागुन १८ गते आइतबार आफ्नो छोरा बनाएर राखे । कर्णेल उजिरसिंह थापाको मृत्युमा काठमाडौं महावौद्धको घर गुरु धनन्जय आचार्यलाई दान दिएको लालमोहोर यद्यपि सुरक्षितछ । (कर्ण बहादुर बानिया २०७०) उनको मातहतमा रहेको श्री सबुज पल्टन, गुरुवक्स गुल्म र स्थानीय पाल्पालीहरुको सहयोग जितपुरगढी तथा नुवाकोट गढीको लडाइमा उनको नेतृत्वको नेपाली सेनाले अत्यन्तै बहादुरीका साथ अंग्रेज फौजलाई परास्त गरेको थियो ।
यस स्थानमा विक्रम सम्वत पन्ध्रौ शताब्दीतिर सेन्कालदेखि नै महिसासुर मर्दिनीको प्रस्तर मूर्ति सहितको सानो मन्दिर थियो । कर्णेल उजिरसिंह थापाले जितपुरगढी युद्धमा जानु अगाडी महिसासुर मर्दिनीको पाउ छोएर यदि युद्धमा विजयी भएमा विशाल मन्दिर बनाई सिन्दुर जात्रा गर्नेछु र यिनै भगवतीको महिमा चार चौरस फैलाउने छु भनी भाकल गरेका थिए ।
वि.सं. १८७१ पौष २२ गते देखि वि.सं. १९७२ जेष्ठ सम्म गरी जितपुरगढीमा दुई पटक युद्ध भएको थियो । आधुनिक हातहतियार सहित लगभग चार हजार अंग्रेज फौजको नेतृत्व जनरल जोन सुलेमान उडले गरेका थिए भने तोप, बन्दुक, धनुष, तरबार, भाला, खुकरी, स्थानीय हातहतियार सहित लगभग तीन हजार नेपाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए ।

यो लडाई मुलतः बुटवल र स्युराज (कपिलवस्तु) को भूमि विवादका कारण भएको देखिएतापनि अंग्रेज फौजले पाल्पालाई कब्जा गरी पश्चिम नेपाललाई राजधानीबाट अलग्याउने र बुटवल पाल्पा काठमाडौं केरुङ मार्गमा अधिपत्य जमाई तिब्बत चीनसँग व्यापार व्यवसाय बढाउने मनुसुवाको कारण भएको बुझिन्छ । यो युद्धमा भएको क्षति सम्बन्धमा विभिन्न इतिहासकारहरुको विभिन्न मत रहेको छ ।
जोन पेम्थलले अंग्रेज फौज तर्फ १९ जना मरेको र ११९ जना घाइते भएका र नेपालतर्फ लगभग ५०० जना मरेका वा घाइते भएका भनेका छन् ।
सोपध्वज विष्टले अंग्रेज फौजतर्फ मात्र ३०० जना मरेको उल्लेख गरेका छन् भने बालचन्द्र शर्माले अंग्रेज फौजतर्फ २४ जना मरेको भने १०४ जना घाइते भएको र नेपालतर्फ पनि करिब त्यतिनै क्षति भएको उल्लेख गरेका छन् । क्षति जुन पक्षको जे जति भएको भएतापनि यो युद्धमा नेपाली सेनाले अंग्रेजहरुलाई लज्जास्पद रुपमा परास्त गरी लौटन सम्म लखेट्दै लखेट्दै लगेको थियो । अग्रेज फौजलाई परास्त गरी नेपाली स्वाभिमान र चन्द्र सूर्य अंकित झण्डा उचो बनाए ।

कमजोर हातहतियार तथा बन्दोवस्ती र कम सैन्य शक्ति हुँदाहुँदै पनि यो लडाइमा नेपाल सेनाले विजय प्राप्त गर्नमा मुख्य रुपमा कर्णेल उजिरसिंह थापाको अद्धितीय युद्ध कौशल र नेतृत्व क्षमता नै हो । यसै गरी नेपाली सेनाको उच्च स्तरको हौसला, प्रेरणा र रणउजिरेश्वरी भगवतीको आर्शिवाद तथा जमिन एवं सिमित साधन र श्रोतको अधिकतम उपयोग गरी अंग्रेज फौजलाई नराम्रोसँग हराउनु नै कर्णेल उजिरसिंह युद्ध कौशलता देखिन्छ । असाधारण व्यक्तित्वका धनी यी बहादुर सैनिक कमाण्डर कुशल राजनीतिक र सफल जन प्रशासक पनि थिए । धार्मिक प्रवृत्तिका कर्णेल उजिरसिंह थापा समाज सुधारक र असल न्याय प्रसासक समेत थिए । यिनले स्थानीयतहमा गढी तथा बाटो घाटोहरुको निर्माणमा समेत योगदान पु¥याएको उजिरसिंहले “जंगी तथा निजामती स्थिति बन्देज” नामक किताब तयार गरी जंगी तथा निजामति प्रशासनलाई थप व्यवस्थित बनाएका थिए ।
जितपुरगढी युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापा वि.सं. १८७२ देखि वि.सं. १८७६ सम्म गजुर सहितको ३ तले मन्दिर पुनःनिर्माण गरी पुरानो प्रस्तर मूर्तिलाई गर्भमा राखी अठार बाहु भएको अष्टधातुको महिसासुर मर्दिनी भगवतीको मूर्ति समेत प्रतिस्थापना गरी भगवती गुठीको व्यवस्था गर्नुको साथै वि.सं. १८७७ साल आषाढ १९ गते शुक्रबारका दिनदेखि प्रत्येक वर्षको भाद्र कृष्ण नवमीको दिन विजय जात्राको रुपमा भगवतिको रथ जात्राको शुभारम्भ गरेर यो मन्दिर पनि रण उजिरेश्वरीका नाममा प्रख्यात हुन थाल्यो ।
प्रत्येक भाद्र कृष्ण अष्टमीका राती वडा हाकिम (हाल प्रमुख जिल्ला अधिकारी) तैनाथवाला सेना प्रमुख –कर्णेल) र मन्दिर व्यवस्थापक समितिका अध्यक्षबाट पन्चवली सहित विशेष पूजाआजा गरिन्छ र सोही रातको १२ बजे तैनाथ बहालवाला कर्णेल उजिरसिंह थापाको खड्क (पुरा लम्बाई ४१ इन्च चौडाई ३ इन्च र वजन १ केजी २०० ग्राम) लाई रथमा राखिन्छ । सो पश्चात रथलाई ३ पटक मन्दिर परिक्रमा गराई नेपाली सेनाले बढाई समेत गर्दछ ।
प्रत्येक भाद्र कृष्ण नवमीको दिनमा रथलाई नेपाली सेनाले सलामी ट्क्रयाएपछि तीन पटक मन्दिर परिक्रमा पश्चात रथलाई मन्दिरको उत्तरतिर भूइमा नराखेकै अवस्थामा तैनाथवाला (बहालवाला) नेपाली सेनाको कर्णेलद्धारा रांगा र बोका बली दिई पहिलो पुजा गर्ने परम्परा छ । यसलाई कर्णेली पुजा भन्ने गरिन्छ । त्यसपछि मात्र नेपाल सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीले दरवार अगाडी पुजा गर्ने र त्यसपछि रथलाई नगर परिक्रमा गराउने गरिन्छ । यस क्रममा हजारौं श्रद्धालु भक्तजनहरु भगवती जात्रामा सहभागी हुनुको साथै स्थानीय बासिन्दाहरुले आ–आफ्नो घर अगाडी बलि सहितको पुजा समेत गर्ने गर्दछन् । यो रथ मात्र नेपाली सेनाको नागपोखरी व्यारेकमा समेत लगिन्छ र सेनाबाट बलि सहित पुजाआजा गर्ने चलन अध्यावधिक रुपमा देख्न सकिन्छ ।
श्री ७ रणउजिरेश्वरी भगवतीको खट यात्रा अरु खटयात्राभन्दा फरक छ । वास्तवमा यो विजयोत्सव जात्रा हो । यो जात्रासँग इष्ट इन्डिया कम्पनी सरकारलाई परास्त गरी विजय हासिल गरी राष्ट्रिय वीरता, धिरता, रणकौशलताको इतिहास पनि जोडिएको छ । यसको २०३ वर्ष पुरानो छ । पाल्पा भगवतीको मन्दिर एक हिसाबले भन्ने हो भने नेपाली जनता र सेनाको वीरताको स्मारक पनि हो । देशभक्तिको निशानी पनि हो । यो पाल्पाको मात्र नभई सिंगो देशको गौरव सम्झाउने जात्रा हो । एउटा जिवित इतिहास पनि हो । त्यसैले यसलाई राष्ट्रिय उत्सव बनाउन पर्छ र राष्ट्र प्रमुखले नै पुजाको तिथीमा पुजा आरम्भ गरेर त्यस दिन राष्ट्रिय विदाको व्यवस्था हुनुपर्छ ।
नेपाली सेना र जनताको साथ लिएर जितेको युद्धको गाथा पाठ्यक्रममा आउनु पर्छ । विद्यालय कलेज र विश्वविद्यालयमा पढाइनु पर्छ । त्यसैले इतिहासमा लेखिएका अपुष्ट र अधुरा सन्दर्भलाई राज्यले खोजमूलक पुनःलेखन गरेर तथ्य सहितको नेपाली वीरताको इतिहास लेखिनु पर्छ । उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ ।