८ असोज, वीरगञ्ज । प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जका चिकित्सकहरुले पनि विरोध गरेका छन् । उनीहरुले डा । केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र व्यवहार गर्नु खेदजनक भएको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनाएको छ ।
१९ बुँदे माग अघि सार्दै डा । केसीले जुम्लाको चन्दनाथ नगरपालिका–६ रानीचौर स्थित बाविरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि अनसन सुरु गरेका हुन् । स्वास्थ्य विग्रिँदै गएपछि उनलाई काठमाडौं ल्याएर उपचार थालिएको छ । राष्ट्रिय ट्रमा सेन्टरभित्र लैजाने क्रममा उनलाई प्रहरीले अभद्र व्यवहार गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आरोप छ । राष्ट्रिय ट्रमा सेन्टरमा जान डा । केसीले नमानेपछि उनकै इच्छाअनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।