सिन्धुपाल्चोक । गएको संविधान सभा निर्वाचन २०७४ सालमा सभामुख अग्नी सापकोटाका चुनावी कमाण्डर हाल युवासंघ नेपालका केन्द्रीय स्थायी समिति सदस्य रहेका सुरेन विक्रम योञ्जनले पार्टी परित्याग गरेका छन् ।
योञ्जनको पार्टी परित्याले युवा संघ नेपालमा अहिले ठूलै भुकम्प गएको छ भने भक्तपुर गुण्डुका नेकपा एमालेका नेता महेश बस्नेतको पनि दाहिने हात नै भाँचिएको युवासंघ नेपालमा यतिबेला चर्चाको विषय बनेको छ ।
योञ्जनले आज एक विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । योञ्जनले प्रेस विज्ञप्तिमा लेखेका छन्, ‘आदरणीय दाजु भाई तथा दिदी बहिनी, सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका हुँदै जिल्लाका विभिन्न सामाजिक, राजनीतिक गतिविधिमा संलग्न हुँदै आउने क्रममा विगत केही समयदेखि म सुरेन विक्रम योञ्जन नेकपा एमाले पछि नेकपा र हाल नेकपा एमालको राजनैतिक दृष्टिकोणमा आवद्ध भै युवा संघ नेपालको केन्द्रीय स्थायी समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्लाको इन्चार्जको रुपमा रहँदै आएको थिएँ । नेकपा एमालेको वर्तमान नेतृत्वमा रहनु भएका साथीहरुको उद्देश्य केवल सत्ता प्राप्ति मात्रै हो रहेछ भन्ने आभाष पछिल्लो समय पार्टीभित्र देखिएको व्यक्तिगत कुण्ठाबाट प्रष्ट छ । सत्ता प्राप्ति र सत्तामा टिकिरहन जो जुनसुकैसँग सहमति गर्ने र त्यसका लागि कुनै राजनैतिक अडान लिन नसक्ने राजनीतिक दल नै नेकपा एमाले भन्ने देदिएको छ’ विज्ञप्तिमा लेखेका छन् ।
विज्ञप्तिमा लेखेका छन् ‘राज्यका संयन्त्र कब्जा गरी मुलुकलाई सदैव आफू केन्द्रित बनाउने कुटिल चालमा नेकपा एमालेका नेताहरु लागेको नागरिकताको विषय केवल सत्ता प्राप्तिको भ¥याङ्ग बनाएको रहेछ भन्ने कुरा नागरिकता अध्यादेश, पछिल्लो मन्त्रिपरिषदको पुनर्गठबाट देखिँदैछ । पार्टीका हजारौं कार्यकर्ताको भावना विपरित अझै पनि खुलेआम विदेशी नेता र राष्ट्रको भक्ति गर्न नै लागेको अवस्था भएको, पार्टीका सबै संरचना केवल आफ्नो भजन मण्डली बनाउने बाहेक केही नभएको हुँदा आजैका मितिदेखि नेकपा एमाले तथा सो सँग सम्बन्धित कुनै पनि निकायसँग मेरो सम्लग्नता नहुने र नेकपा एमाले त्यागेको घोषणा गर्दछु ।’
सिन्धुपाल्चोक मेलम्ची क्षेत्र अहिले बाढी पहिरोका कारण क्षतविक्षत रहेको र लाखौं नेपाली दाजुभाईको गाँस, बास र कपास समस्या रहेकोले जहाँ जे अवस्थामा सहयोग गर्न सकिन्छ सहयोग गर्न अपिल गर्दै राहत व्यवस्थापनका लागि लाग्न सबैमा अनुरोध गर्दछु । हजुरहरुको साथमा सधैं रहने प्रतिवद्धता व्यक्त गर्दछु, योजनले प्रेस वक्तव्यमा लेखेका छन् ।