बर्दीबास। उखुको खरिद प्रकृया र भुक्तानीको विषयलाई लिएर अन्य जिल्लामा किसान र उद्योगिबिच विवाद चुलिएको बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखुको भुक्तानी दिन सुरु गरेको छ । एभरेस्टले उखु खरिद गरेको ५ दिनभित्रै भुक्तानी दिने नीतिअनुसार नयाँ रेट प्रतिक्विन्टल ५८५ रुपियाँको दरले किसानको खातामार्फत भुक्तानी दिन सुरु गरेको हो ।
मङ्सिर २६ गतेदेखि क्रसिङ सुरु गरेको एभरेष्टले आइतबार अपरान्ह १२ बजेसम्म पाँच लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । त्यसमध्ये पुस १० गतेसम्म खरिद गरेका चार लाख ६७ हजार ४ सय क्विन्टल उखुको पच्चीस करोड ६ लाख १३ हजार ९८६ रुपियाँ भुक्तानी गरेको महाप्रवन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो ।
भुक्तानीको तेश्रो श्रृङखला अन्र्तगत पुस १४ गते (आज) तीन हजार १९४ किसानको खातामा १० करोड ९४ लाख ५२ हजार ४७२ रुपियाँ जम्मा गरेको कारखानाका वित्तिय महाप्रवन्धक विमलचन्द्र ठाकुरले बताउनुभयो । चालु क्रसिङ सिजनको पहिलो किस्ता पुस ४ गते ४ करोड ८६ लाख र दोश्रोपटक पुस ९ गते ९ करोड २५ लाख रुपियाँ किसानको खातामा भुक्तानी गरिसकिएको उहाँले बताउनुभयो ।
ठाकुरले भन्नुभयो, "भुक्तानीको चौथो श्रृङखला अन्र्तगत अब पुस १५ गतेसम्म खरिद गरिएका उखुको भुक्तानी गरिने छ । यो भुक्तानी पुस २० गते गरिसक्ने गृहकार्यमा जुटेका छौंं ।" बिदाको दिन बाहेक खरिद गरेको हरेक ५ दिनभित्र उखुको भुक्तानी दिने नीति अनुसार किसानक खातामा नियमित रकम जम्मा भइरहेको एभरेष्टका महाप्रवन्धक शुक्लाले जनाउनुभयो ।
विगतका क्रसिङ सिजनमा एक वर्षभन्दा बढी समय विताएर भुक्तानी दिने गरेका चिनी मिलले समयमै भुक्तानी दिने निती अवलम्वन गर्नु सकारात्मक भएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले बताउनुभयो ।
"सरकारले उखुको उचित मूल्य निर्धारण नगर्दा निरास बनेका कृषकलाई समयमै भुक्तानी पाउदा थोरै भएपनि राहत मिलेको छ," उहाँले प्रतिकृया दिनुभयो । सरकारले गत वर्ष उखुको ५६५ रुपियाँ रेटमा २० रुपियाँ मात्र थप गरि प्रति क्विन्टल ५८५ रुपैया कायम गरेकोले किसान निरास बनेको कुशवहाले बताउनुभयो । यो वृद्धिसँगै सरकाले दिने ७० रुपियाँ समेत जोडदा उखुको मूल्य प्रति क्विन्टल ६५५ रुपियाँ कायम भएको छ ।
चिनी मिलले नियमित भुक्तानी सुरु गरे पनि प्रति क्विन्टल ७० रुपैया अनुदान भने सरकारले कहिलेसम्म दिने हो अनिश्चित छ । उखु किसानले भने राष्ट्र बैंकले निर्धारण गरेको १५ मूल्य वृद्धिको आधारमा प्रति क्विन्टल ८५ रुपियाँ माग गर्दै आएका छन् । किसानको मागलाई लत्याउदै सरकार र उधोगपतिको कोठे बैठकले हचुवाको भरमा वृद्धि गरेको २० रुपियाँप्रति उखु कृषकले विमति जनाउदै आएका छन् ।
कुशवहाले असन्तुष्टि पोख्नुभयो, ‘हामीले उखुको उचित मूल्य वृद्धिको माग राखेका थियौं । सरकारले हचुवाको भरमा २० रुपियाँ थपेको छ । यो त भीख दिएसरी भयो । यसले उखु किसानको अपमान गरेको छ ।’
एभरेष्टले क्रसिङ सिजन (२०८१-८२) मा न्यूनतम ३५ लाख क्विन्टल उखु क्रसिङ गरि ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ । गत वर्ष एभरेष्टले क्रसिङ सिजन (०८०-८१) मा २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरि २ लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा ६ लाख क्वीन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रवन्धक शुक्लाले जनाउनुभयो ।