सिरक डसना बनाएर मनग्य आम्दानी

11k Shares

काठमाडाैँ । सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ छ ।

धनुषा, पर्सा, काठमाडौंसम्म पुगेर सिरक डसना बनाउने काम गरेको रफिकले बताए । उनका अनुसार एक जना कालीगढले दिनमा सात वटासम्म सिरक वा डसना बनाउन सक्छन् । पसले वा स्थानीयबाट लम्बाइ र चौडाइ हेरेर एउटा सिरक वा डसना बनाएको कम्तीमा रु सात सय ज्याला लिने गरेको उनले बताए । 

सिरक डसना बनाउन सम्पूर्ण सामान साहुले नै उपलब्ध गराइदिन्छन् । कपास फिट्ने लाठी र सियोको भरमा मनग्य आम्दानी गर्ने गरेको मन्सुरको भनाइ छ । जस्तोसुकै भए पनि सीप भएपछि कमाइ गर्न समस्या नहुने उनी बताउँछन् । औपचारिक शिक्षा नलिएका तीनै जनाले आफ्ना बुवा-बाजेबाट सिकेको सीप लिएर स्वरोजगार बनेको उनले बताए । मेहनत गर्न सक्दा गाउँ ठाउँमै काम पाइने उनको भनाइ छ ।

कात्तिक, मङ्सिर, पुस र माघसम्म मासिक रु डेढ लाखको हाराहारीमा आम्दानी गर्ने गरेको रफिकले बताए । 'दिनको झण्डै रु पाँच हजारसम्म आम्दानी हुन्छ,' उनले भने, 'बिहानैदेखि आँखा देखुञ्जेल काम गर्नुपर्छ । सिरक डसना बनाएर कमाएको आम्दानीले परिवारका सात जनाको भरणपोषण गर्ने गरेको छु ।'

आफूसँगै अहिले छोराहरू पनि कमाउन जाने गरेका अर्का कालीगढ हाफिज मन्सुले बताए । 'घरमा भएका बुहारी नातिनातिनीहरू सबैको लालनपालन आफैंले गरिरहेको छु,' उनले भने ।

कमाइ नभए कसरी परिवार पाल्नु उनले प्रश्न गरे । हफिजका अनुसार पछिल्लो समय विभिन्न प्रकारका म्याटेसलगायतको बजारले सिरक डसनाको माग कम हुँदै गएको छ ।

यसरी सिरक डसनाको मागसँगै बनाउने पेसासमेत सङ्कटमा पर्दै गएकोमा उनले दुखेसो गरे, 'बजारमा विभिन्न म्याट्रिक्स पाइन्छ । गाउँमा पनि त्यही राख्न थालेका छन् । गाउँगाउँमा ट्याक्टरमा उपकरण लिएर हिँड्नेले पुरानो लुगाबाट सिरक डसना बनाउन थालेपछि झन कपासको प्रयोग गरेर सिरक डसना बनाउने काम घट्दै गएको छ ।'

प्रत्येक वर्ष चिसो बढ्दै जाँदा जाडोको जोहो न्यानो सिरक डसनाको खपत बढ्ने गर्दछ ।

यस वर्ष पनि समयमै चिसो शुरू भएकाले जिल्लामा सिरक डसना बनाउने जनशक्तिको चहलपहल बाक्लिनुका साथै बजार पसलका समेत सिरक डसनाको माग बढ्दै गएको सर्लाहीको बरहथवा बजारमा सिरक डसना व्यापार गर्ने रामदरेश ठाकुरले बताए ।

सम्बन्धित समाचार