कृष्णप्रसाद भट्टराई स्मृति करातेमा पुलिस टिम च्याम्पियन

18k Shares

ललितपुर । प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा आठ स्वर्णसहित नेपाल पुलिस क्लव टिम च्याम्पिन बनेको छ ।


पुलिसले ४ कास्य पदक जितेको छ । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब दोस्रो हुन सफल भएको छ भने ३ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ एपिएफ तेस्रो भएको छ ।


१ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ बागमती चौथो, १ स्वर्ण, १ रजत र ५ कास्य पदकका साथ प्रदेश १ पाँचौं बनेको छ । त्यस्तै १ रजत र ४ कास्यका साथ लुम्बिनी छैटौं, १ रजत र ३ कास्य पदक जित्दै सुदूरपश्चिम सातौं र १ रजत र २ कास्य पदकका साथ मधेश प्रदेश आठौं बनेको छ । पदक विहिन गण्डकी र कर्णाली संयुक्त रुपमा नवौं स्थानमा रहे ।


१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता समेत रहेकी कुसुम खड्का र प्रदेश १ का रोजन खड्का प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । कुसुम प्रतियोगिताको ४५ केजी महिला कुमुते र रोजनले ८४ केजी मूनिको तौल समूहमा स्वर्ण पदक जितेका थिए ।


अन्तिम दिन शनिबार ४ इभेन्ट्को प्रतिस्पर्धा भएको थियो । पुरुष ५० केजी तौल समूहमा साजन मोक्तान च्याम्पियन बनेका छन् । उनले फाइनलमा एपिएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण पदक जितेका हुन् । त्यस्तै नविन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै महिला ६१ केजी तौल समूहमा एपिएफकी इस्तर राईलाई १३ –३ ले नकआउट गर्दै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठ स्वर्ण पदक जितेकी थिइन् । शनिबारको पहिलो खेलमा एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।


सो प्रतियोगिताको उद्घाटन सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो भने समापन कार्यक्रममा खेलाडीहरुलाई पुरस्कार वितरण नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा समाजसेवी आरजु राणाले गर्नुभएको थियो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।
प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, क्लासिक डायमण्ड र बागमती गाउँपालिका सहयोगी रुपमा रहेको सो प्रतियोगिताका प्रमुख सल्लाहकार राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता मीन कृष्ण महर्जनले बताएका छन्  ।

सम्बन्धित समाचार