काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल आवतजावत् बाक्लिएको छ । उनी केही महिना अघि नेपाल भ्रमण गरेर फर्किएका थिए ।
त्यतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए । यसपटक उनले धेरैजसो शिर्ष र प्रभावशाली नेताहरुलाई भेटे । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश समेत बोकेर आएका थिए । उनी लामो समय हिन्दुत्वको आधारमा चलेको राष्ट्रिय स्वयंसेवक संघको कार्यकर्ता भए । यसकारण पनि उनी हिन्दुत्वको विषयमा कट्टर छन् । बाल्यकालदेखि आरएसएसमा आवद्ध चौथाइवाले हिन्दुत्व इन प्रिजेन्ट कन्टेक्स्टका लेखक पनि हुन् ।
चौथाइवालेले हिन्दुत्वको मुद्दामा विदेशी नेताहरुले आलोचनात्मक टिप्पणी गरेमा त्यसको प्रतिक्रिया दिइहाल्छन् । पछिल्लो समय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग सामाजिक सञ्जालमा उनको शब्दको द्वन्द्व नै चलेको थियो । भट्टराईले योगी आदित्यनाथले दूध चढाएको तस्बिर राखेर आलोचनात्मक टिप्पणी गरेपछि चौथाइवालेले त्यसको आलोचना गरेका थिए । यसबाट पनि उनी हिन्दुत्वको मुद्दामा कट्टर छन् भन्ने देखिन्छ । हिन्दुत्वलाई लक्ष्य बनाएर चौथाइवालले लामो समय काम गरिसकेका छन् । विज्ञानका विद्यार्थी भएपनि उनी धर्म संस्कृतिको गहिरो अध्ययन गरेका नेता मानिन्छन् । माइक्रोबायलोजीमा विद्यावारिधी गरेका चौथाइवाले दर्जनभन्दा बढी कृति समेत छन् । उनलाई भाजपाको विदेश मामलाको कुशल रणनीतिकार मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र चौथाईवालेको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।
नेपालमा सरकार परिवर्तन भएपछि चौथाईवालेको पहिलो भ्रमण भएको हो । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् । दुवै भेट नेपाल मामलामा भाजपाको भावी रणनीतिको उद्देश्य बोकेको बुझिएको छ । पछिल्लो समय नेपालमा हिन्दुत्वको मुद्दा फैलन खोजिरहँदा भारतको सत्तारुढ भाजपाले नयाँ रणनीति बनाउन खोजेको देखिँदैछ । हिन्दुत्वको मुद्दामा विदेश विभाग हेर्ने चौथाइवाले पनि अझ खुलेर प्रस्तुत भइरहेका छन् । यसबीच उनको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।
चौथाइवाले नेपाल भ्रमणमा आउनु अघि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालको हिन्दु राष्ट्र अभियान सुरु भइसकेको छ । ३ भदौमा हिन्दु धर्मगुरु र संस्थाहरुलाई साक्षी राखेर संयोजकका रुपमा हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको शंखघोष गरेका थिए । कटवाल हिन्दु राष्ट्र अभियानमा लाग्नु अर्थपूर्ण छ । उनी माओवादीको कटु आलोचक मानिन्छन् । भाजपा नेतादेखि धर्मगुरुहरुको ओहोरदोहोर बाक्लिदा कटवालको सक्रियतालाई चासोको साथ हेरिएको छ ।