गण्डकी। लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा आगामी पुस ६ गते पोखरा महानगरपालिका–३० मा यःमरी उत्सव गरिने भएको छ ।
उत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवं कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुका श्रेष्ठले नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।
संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उहाँले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्ना गर्दै यसको प्रवर्द्धन र पुस्तान्तरण गर्न लेखनाथ क्षेत्रमा पहिलो पटक यो उत्सव गर्न लागिएको जानकारी दिनुभयो । उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयबजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकार उपलब्ध गराइने उहाँले बताउनुभयो ।
लेखनाथ नेवा: खलका संस्थापक अध्यक्ष प्रेम लिगलले प्राचीन संस्कार र संस्कृति हाम्रो सभ्यताका पहिचान भएका बताउँदै यिनीहरूको प्रवर्द्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । यःमरी पुन्हीका अवसरमा खाइने यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेकाले यसको पुस्तान्तरण हुनु जरुरी रहेको उहाँको भनाइ छ ।