हिउँदको पहिलो वर्षा : यी भेगमा पर्नेछ पानी

11.5k Shares

काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा आउँदो सोमबार हुने सम्भावना छ । देशका केही स्थानमा त्यस दिन वर्षा हुने अनुमान गरिएको छ । आइतबार रातिदेखि नै बदली (आकाशमा बादल) बढ्दै जाने र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसको प्रभावले सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्म बदली र वर्षा हुन सक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । त्यस अवधिमा पानी परे त्यो यस वर्षको हिउँदको पहिलो वर्षा हुने उनले जानकारी दिए ।

पश्चिमी वायु पश्चिम क्षेत्रबाट पूर्वतिर सर्ने हुन्छ । त्यसैले पूर्वमा भन्दा उक्त प्रणालीको प्रभाव पश्चिममा पर्नेछ । हिमाली भेगमा हिमपात हुनेछ ।

“पूर्वसम्मै बदली हुनेछ । पूर्वमा वर्षारहिमपात नै नहुने भन्ने त होइन, सम्भावना न्यून देखिन्छ,” उनले भने, “अध्यावधिक गर्ने क्रममा यो चेन्ज पनि हुनसक्छ ।”

हालको अवस्थाबाट हेर्दा आइतबार राति र सोमबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली र वर्षारहिमपातको सम्भावना बढी छ । “यी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ,” उनले भने । त्यसमा पनि कुन स्थानमा बढी प्रभाव पर्ने भन्ने भोलि वा पर्सिमा अझ गहिरोसित भन्न सकिने उनले स्पष्ट पारे ।

उक्त अवधिमा काठमाडौंमा वर्षाको मजबुत सम्भावना देखिएको छैन । तर, बदली र चिसो बढ्ने अनुमान गरिएको उनले बताए । “अहिले अनुमान गर्दा बदली र चिसो बढ्ने देखिन्छ,” उनले भने, “हल्का वर्षा पनि हुनसक्छ ।”

सम्बन्धित समाचार