काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सबै नेपालीलाई स्वदेशी उत्पादन उपभोग गर्न सुझाव दिएका छन् । फलफूल उत्पादक किसान महासंघ नेपालले आज ९मंगलबार० रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कृषि उत्पादनमा लाग्ने हो भने कोही पनि खाँडी मुलुक जान नपर्ने बताएका हुन् ।
‘नेपालमा उत्पादन नहुने होईन । कोही पनि खाँडी जानु पर्दैन नेपालमा कृषि राम्रो भयो भने । मैले गगन दाईको जस्तो गफ हानेको चाहीँ होईन, यो वास्तविकता हो,’– उनले भने ।
उनले नेपालमा केराको मात्रै २० अर्बको बजार रहेको र अहिले नेपाली उत्पादनले आधामात्रै धानेको बताए । त्यस्तै, यस वर्ष ३२ करोडभन्दा बढीको गोलभेडा र आलु ६ अर्ब ८१ करोडको आयत भएको बताए । ४३ करोड ८० लाख रुपैयाँको खसी र भेडा बाख्रा, माछा ५५ लाख ५० हजार किलो माछा आयत भएको उनले सुनाए ।
साथै, उनले किसानका लागि कृषि मन्त्रालय मरिसकेको टिप्पणी गरे । आफूले किसानहरुको हक हितका लागि कृषिमन्त्रीसँग पटक–पटक संवाद गरेपनि माग सुनुवाई नभएको बताए । अहिले कृषि विकास बैंकले किसानलाई ऋण नदिएर गाडी किन्नमा लगानी गरिरहेको उनले बताए ।