विश्वको भन्दा नेपालको आर्थिक वृद्धिदर बढी

12.2k Shares

काठमाडौं । विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ३ दशमलव ३ प्रतिशत रहेकामा नेपालको भने त्यसभन्दा बढी देखिएको छ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०–८१ मा ३ दशमलव ८७ प्रतिशत रहेको छ । आव २०७९–८० मा यस्तो वृद्धिदर १ दशमलव ९५ प्रतिशत मात्रै रहेको थियो ।

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ३ दशमलव ३ प्रतिशत रहेकामा सन् २०२४ र सन् २०२५ दुवै वर्ष सो वृद्धिदर ३ दशमलव २ प्रतिशत रहने देखिएको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार भूराजनीतिक तनाव, जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारण विश्वको आर्थिक वृद्धि कोभिड–१९ पूर्वको तुलनामा अझै कमजोर रहेको छ ।

सन् २०२३ मा १ दशमलव ७ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन् २०२४ र सन् २०२५ दुवै वर्ष १ दशमलव ८ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण रहेको छ । यसैगरी, सन् २०२३ मा ४ दशमलव ४ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन् २०२४ र सन् २०२५ गरी दुवै वर्ष ४ दशमलव २ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ ।

सन् २०२३ मा भारत र चीनको अर्थतन्त्र क्रमशः ८ दशमलव २ प्रतिशत र ५ दशमलव २ प्रतिशतले विस्तार भएकामा सन् २०२४ मा क्रमशः ७ प्रतिशत र ४ दशमलव ८ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ ।

सन् २०२५ मा भारत र चीनको अर्थतन्त्र क्रमशः ६ दशमलव ५ प्रतिशत र ४ दशमलव ५ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।

मुद्राकोषका अनुसार विश्वको मुद्रास्फीतिमा सुधार हुँदै आएको छ । सन् २०२३ मा विश्वको उपभोक्ता मुद्रास्फीति ६ दशमलव ७ प्रतिशत रहेकामा सन् २०२४ मा ५ दशमलव ८ प्रतिशत र सन् २०२५ मा ४ दशमलव ३ प्रतिशत रहने कोषले प्रक्षेपण गरेको छ । मुद्रास्फीतिलाई मुद्राको अवमूल्यन र मूल्यवृद्धि दरका रूपमा लिने गरिन्छ ।

नेपालको भने चालू आवको पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २६ प्रतिशत रहेको छ । २०८१ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव ५० प्रतिशत रहेको थियो ।

विकसित अर्थतन्त्रको मुद्रास्फीति सन् २०२३ मा ४ दशमलव ६ प्रतिशत रहेकामा सन् २०२४ मा २ दशमलव ६ प्रतिशत र सन् २०२५ मा २ प्रतिशत रहने प्रक्षेपण छ । उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति सन् २०२३ मा ८ दशमलव १ प्रतिशत रहेकामा सन् २०२४ मा ७ दशमलव ९ प्रतिशत र सन् २०२५ मा ५ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण छ ।

सन् २०२३ मा भारत र चीनको औसत मुद्रास्फीति क्रमशः ५ दशमलव ४ प्रतिशत र शून्य २ प्रतिशत रहेकामा सन् २०२४ मा क्रमशः ४ दशमलव ४ प्रतिशत र शून्य ४ प्रतिशत रहने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन २०२५ मा भारत र चीनको औसत मुद्रास्फीति क्रमशः ४ दशमलव १ प्रतिशत र १ दशमलव ७ प्रतिशत रहने कोषको प्रक्षेपण छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार